२०८१ बैशाख ७ , शुक्रवार

श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त

सुनाखरी न्युज/ काठमाडौं ।
श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । श्रीलंकाको धराशायी अर्थतन्त्रलाई उकास्नका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अनुमान गरिएको छ ।

राष्ट्रपति गोटाबाय राजापाक्षेले बिहीबार उनलाई  प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

आर्थिक संकट गहिरिएपछि श्रीलंकामा सरकारविरुद्ध उग्र प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए ।

राजापाक्षेले राजीनामा दिएपछि विपक्षी दलका शीर्ष नेताहरूले राष्ट्रपतिले राजीनामा नदिएसम्म नबन्ने घोषणा गरेपछि विक्रमासिंघे प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनी यो सहित पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

उनलाई श्रीलंकाका निवर्तमान प्रधानमन्त्री राजापाक्षेले ट्विटरमार्फत बधाईसमेत दिएका छन् ।