२०८१ बैशाख ११ , मंगलबार

दलका प्रतिनिधि अराजक भए : आयोग

सुनाखरी न्युज/ काठमाडौं । सुरक्षा कमजोरी हुँदा स्थानीय तह निर्वाचनमा राजनीतिक दलका कार्यकर्ता अराजक भएको निष्कर्ष निर्वाचन आयोगले निकालेको छ । देशभरका ७५३ पालिकाका २२ हजार बढी मतदान केन्द्रमा शुक्रबार एकसाथ मतदान भएको थियो ।

 

तर राजनीतिक दलका कार्यकर्ताबीच भएको झपडका कारण कम्तीमा २५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा पनि २०–२५ स्थानमा विवाद भएको थियो । त्यसबेला पुलिङ सेन्टर बाहिर झडपका घटनाहरु भएका थिए । यो पटक कतिपय स्थानमा मतपत्र च्यातिएको छ भने कतिपय ठाउँमा मतपेटिका तोडफोड भएको छ । सुरक्षा कमजोरीका कारण राजनीतिक दलका कार्यकर्ता अराजक भएको निर्वाचन आयोगको निष्कर्ष छ । पटक–पटक सुरक्षा घेरा कमजोर हुन्छ कि भन्ने प्रश्न उठाएको थियो, र सामान्य, मध्यम, संवेदनशील, अति संवेदनशीलसहित पाँच तहको सुरक्षा वर्गीकरण गर्र्नुपर्नेमा जोड दिएको थियो । तर अहिले तीन तहको मात्र वर्गीकरण भयो ।

 

आयोगले म्यादी प्रहरी भर्नामा पनि भूपू सुरक्षाकर्मीलाई प्राथमिकता दिन भनेको थियो । तर म्यादी प्रहरीमा धेरै नयाँ आए । २०७४ मा भन्दा अहिले राजनीतिक ध्रुवीकरण चर्को छ । त्यहीबेला सुरक्षाकर्मीले ग्याप दिएका कारण राजनीतिक दलका प्रतिनिधि अराजक भएको आयोगको निष्कर्ष छ । यसले मत नै कम खसेको भन्दै आयोगका अधिकारीहरुले भनेका छन्, ‘यतिको भइसकेपछि शान्तिपूर्ण भन्न सकेनौं, सामान्य रुपमा निर्वाचन भयो भन्ने हाम्रो निष्कर्ष छ ।’ यद्यपि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने आम रुपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएका छन् ।