२०८० चैत्र १६ , शुक्रवार

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप दोस्रो दिनको समाप्तिमा भुवन र सुबासको अग्रता

सुनाखरी न्युज/ काठमाडौं ।  भुवन नगरकोटी र पहिलो दिन अग्रस्थानमा रहेका एमेच्योर सुवास तामाङ गोकर्ण गल्फ क्लबमा मङ्गलबार भएको सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गतको सातौं स्पर्धा सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिनको समाप्तिमा बराबरी गर्दै पहिलो स्थानमा रहेका छन्। भुवनले आज बाह्र-अन्डर १३२ को कुल स्कोरका लागि ८-अन्डर ६४ को कार्ड खेले। त्यसैगरी सुवासले १२-अन्डर १३२ को कुल स्कोरको लागि चार-अन्डर ६८ को कार्ड खेले।

 

१५ वर्षका एमेच्योर सद्भाव आचार्य र रमेश अधिकारी सात-अन्डर १३७ को कुल स्कोरका साथ तेस्रो स्थानमा रहे। सद्भावले तीन-अन्डर ६९ र रमेशले पाँच-अन्डर ६७ को स्कोर बनाए। त्यस्तै छ-अण्डर १३८ को कुल स्कोर बनाएर पाँचौं स्थान बराबरी गरेका रवि खड्का र शुक्रबहादुर राई ले क्रमश एक-अन्डर ७१ र एक-ओभर ७३ को स्कोर बनाए। आज एक-ओभर ७३ को स्कोर बनाएका दिनेश प्रजापति तीन-अन्डर ६९ को कुल स्कोरका साथ सातौं स्थानमा रहे। त्यस्तै कमल तामाङ आज सम-पार ७२ रन बनाएर दुई-अन्डर १४२ को कुल स्कोर बनाउँदै आठौं स्थानमा रहेका छन्। आजका दिन तीन-अन्डर ६९ बनाएका रामे मगर एक-अन्डर १४३ को कुल स्कोर सहित नवौं स्थानमा छन् ।

 

जयराम श्रेष्ठ र धनबहादुर थापा इभन-पार १४४ बनाएर दशौं स्थानमा बराबरीमा रहेका छन्। जयरामले एक- अन्डर ७१ र धनबहादुरले एक-ओभर ७३ को स्कोर बनाए। भुवन कुमार रोक्का र एमेच्योर टासी छिरिङ एक-ओभर १४५ सहित बाह्रौँ स्थानमा रहेका छन्। भुवनले एक- ओभर ७३ खेले भने टाशीले ६-ओभर ७८ को स्कोर बनाए। निरज तामाङ र सञ्जय लामा दुई- ओभर १४६ को कुल स्कोर सहित चौधौं स्थानमा रहेका छन्। निरजले तीन-अन्डर ६९ बनाए भने सञ्जयले एक-ओभर ७३ को स्कोर खेले। भुवनले आफ्नो आठ-अन्डर ६४ को बोगी फ्रिराउण्डमा तेस्रो, पाँचौं, छैठौँ, सातौं, नवौं होलमा पाँचवटा बर्डी खसाल्दै अगाडिको नौमा पाँच-अन्डर ३१ बनाए भने पछिल्लो नौ होलमा तीन-अन्डर ३३ को लागि उनले ११औं, १२औँ र १५औं होलमा बर्डी बनाए।

 

एमेच्योर सुवासले तेस्रो, चौथो, सातौं होलमा बर्डी सहित दुई-अन्डर ३४ को स्कोर खेले भने छैठौँ होलमा सट खसाले। पछाडिको नौमा भने उनले दुई-अन्डर 34 को लागि ११औं र १४औं होलमा बर्डी बनाए। रमेशले आफ्नो बोगी-फ्री राउन्डमा पहिलो र पाँचौं होलमा बर्डी सहित अघिल्लो नौमा दुई-अन्डर ३४ को स्कोर बनाए भने पछिल्लो नौ मध्ये १२औं, १६औं र १८औं होलमा बर्डी खेल्दै तीन-अण्डर ३३ बनाए।एमेच्योर सद्भावले दोस्रो होलको बोगीका विरुद्ध पहिलो, तेस्रो र चौथो होलमा बर्डी खसाल्दै अघिल्लोको नौमा दुई-अन्डर ३४ बनाए। पछाडिको नौमा भने उनले १६औं होलको बोगीको बिरूद्ध १०औं र १७औं होलमा बर्डीज कार्ड गरे।

 

अघिल्लो नौमा डबल-बोगीबाट सुरु गरेका रविले तेस्रो र छैठौं होलमा बर्डी बनाए भने नवौं होलमा सट ड्रप गर्दै एक-ओभर ३७ को स्कोर बनाए। पछिल्लो नौमा भने उनले १५औं होलको बोगीका विरुद्ध १३औं, १४औं र १६औं होलमा बर्डी खेल्दै दुई-अन्डर ३४ को स्कोर बनाए। सुक्रले आठौं होलको बोगी विरुद्ध चौथो र छैठौं होलमा बर्डी सहित अघिल्लो नौमा वन-अन्डर ३५ बनाए। पछिल्लो नौमा भने उनले १४औं होलमा डबल-बोगी खेल्दै दुई-ओभर ३८ बनाए। नौ-ओभर १५३ मा कट लागू गरिएको खेलमा २१ प्रोफेसनल र ६ जना एमेच्योर अगाडी बढेका थिए। कट पार गर्ने अन्य खेलाडीमा एमेच्योर वाङ्छेन धोन्डुप (१४७), प्रदीपकुमार लामा (१४८) र तीर्थ पौडेल (१५०) थिए ।

 

कृष्णमान राजबाहक, बलबहादुर राई, राजेन्द्र थापा मगर, शिवराम पौडेल, एमेच्योर विजय श्रेष्ठ इनहाउस र महेन्द्र फगामी गरी ६ खेलाडी १५१ मा रहे भने सूर्यप्रसाद शर्मा १५२, सञ्जोक मोक्तान र सचिन भट्टराई १५३ मा रहेका छन्। कूल ३२ प्रोफेसनल गल्फर र १२ एमेच्योर खेलाडीको सहभागिता रहेको यो प्रतियोगितामा कुल रु. ७७५,००० को पुरस्कार रासी रहेको छ। प्रतियोगिताको विजेताले रु १ लाख ३५ हजार, उपविजेताले रु ८८ हजार र तेस्रो हुनेले रु. ६५ हजार प्राप्त गर्नेछन्। त्यस्तै शीर्ष २१ स्थानमा रहेका अन्यले पनि पुरस्कार राशि पाउनेछन्।