२०८० चैत्र १५ , बिहिवार

स्याङजामा स्थानीयवासीले मारे चितुवा

सुनाखरी न्युज/ स्याङजा –

स्याङ्जाको हरिनास गाउँपालिका–६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले मारेका छन् । आज बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयवासीले धपाउन खोज्दा एक्कासि मान्छेमाथि आक्रमण गरेको स्थानीयवासी रेशम गोतामेले बताए ।

 

घर नजिकै पातीको झ्याङमा लुकेको चितुवालाई धपाउन खोज्दा स्थानीयवासी दुर्गाबहादुर गोतामेलाई आक्रमण गरेको उनले बताए । मान्छेमाथि चितुवाले आक्रमण गरेपछि स्थानीयवासीले काठको दाउराले टाउकामा हानेर मारेका हुन् । चितुवाको आक्रमणबाट हरिनास–६ कोटथोक बस्ने ४३ वर्षीय दुर्गाबहादुर गोतामे घाइते भएका छन् । आफ्नो ज्यानको सुरक्षा गर्नेक्रममा गोतामेको कान, टाउको र हातमा चोट लागेको छ ।

 

उनलाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि भीमाद लगिएको छ । मान्छेलाई आक्रमण गर्ने चितुवा मरेपछि प्रहरी र इलाका वन कार्यालय बिरुवाका वन अधिकृत हरिबहादुर थापा घटनास्थलमा पुगेर कागजी प्रक्रिया पूरा गरी चितुवालाई डिभिजन वन कार्यालय स्याङ्जा ल्याउने तयारी गरिएको छ । वन अधिकृत थापाका अनुसार पोथी जातको चितुवा १.६ मिटर लम्बाइ, ५२ सेमी उचाइ र १५ किलो तौलको रहेको छ ।  रासस