२०८० चैत्र १६ , शुक्रवार

राष्ट्रिय भलिबल : एपिएफको जीत

सुनाखरी न्युज/ काठमाडौं –

छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ)ले साविक विजेता न्यू डायमण्ड स्पोर्टस् क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा एपिएफले न्यू डाइमण्डलाई ३–० को सेटमा पराजित गरेको हो । एपिएफले न्यू डायमण्डलाई २५–१९, २५–१० र २५–९ को सेटमा पराजित गर्‍यो । जारी प्रतियोगितामा न्यू डायमण्डको यो लगातार चौथो हार हो । यस हारसँगै न्यू डायमण्डले ४ खेल १ अङ्क जोडेर प्रतियोगिताको अन्त्य गरेको छ ।

 

यता एपिएफको भने यो तेस्रो जीत हो । एपिएफको ९ अङ्क रहेको छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यू डायमण्ड र एभरेस्ट भलिबल क्लब सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले छ लाख तथा उपविजेताले तीन लाख पाउनेछन् । त्यसैगरी तेस्रो हुने टोलीले एक लाख ५० हजार र चौथो हुनेले ७५ हजार प्राप्त गर्नेछन् । रासस