२०८१ बैशाख ७ , शुक्रवार

स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

सुनाखरी न्युज/ जुम्ला –

जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रु २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ ।

 

यसवर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए । बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई पनि स्याउको बिरुवा बिक्री नहुँदा समस्या भएको छ । “नौ हजार बिरुवा उत्पादन गरे, हालसम्म एउटा पनि बिक्री भएन”, उनले भने । कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीका अनुसार जिल्लाभरि ११० स्याउका नर्सरी दर्ता छन् ।

 

केही किसानले दर्ता नगरेरै पनि नर्सरीमा स्याउका बिरुवा उत्पादन गरिरहेका छन् । अधिकांश किसानले उत्पादन गरेको बिरुवा बिक्री हुन नसकेको उनी बताउँछन् । यसअघि जिल्लामा उत्पादित स्याउका बिरुवा मुगु, बझाङ, बाजुरा, डोल्पा, अछाम, हुम्लालगायत जिल्लामा बिक्री गर्ने गरिएको थियो । जुम्लामा तीन हजार ४५० हेक्टरमा स्याउ खेती भइरहेको छ । रासस