२०८० चैत्र १५ , बिहिवार

भुवनले जिते सूर्य नेपाल च्यालेन्ज

सुनाखरी न्युज/ काठमाडौँ । भुवन नगरकोटीले शुक्रबार रोयल नेपाल गल्फ क्लबको पार-६८ मा सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज जितेका छन्।

 

नेपालको नम्बर १ प्रो भुवनले अन्तिम राउण्डमा २-अण्डर ६६ को कार्ड खेलेर कुल १३-अण्डर २५९ स्कोर सहित उपाधि हात पारे। उनले जयराम श्रेष्ठलाई चार-स्ट्रोकले पराजित गर्दै सिजनको दोस्रो र समग्रमा १०औं उपाधि जिते। ट्रफीसँगै भुवनले एक लाख रुपैयाँको चेक प्राप्त गरेका छ ।

 

फाइनल राउण्डमा ६-अण्डर ६२ को कार्ड बनाएका जयराम ९-अन्डर २६३ बनाउँदै दोस्रो स्थानमा रहे र ६५ हजार नगद रासीको पुरस्कार पाए। यसैगरी इभन-पार ६८ राउण्ड खेलेर सम्जय लामा ६-अन्डर २६६ स्कोर सहित तेस्रो स्थानमा रहे। दिनेश प्रजापति र रामे मगरले पाँच-अन्डर २६७ को कुल स्कोर बनाएर चौथो स्थानमा रहँदै ३६ हजार रुपैयाँ प्राप्त गरे। दिनेशले दुई-ओभर ७० र रामेले पाँच-अन्डर ६३ को अन्तिम पारी खेलेका थिए।

 

यस्तै धनबहादुर थापा इभन-पार २६८ अंक सहित छैटौंमा रही ३० हजार कमाए। त्यसै गरी तीन खेलाडी भुवनकुमार रोक्का (७६), दीपक मगर (७३) र निरज तामाङ (७१)ले दुई-अन्डर २७० स्कोर बनाइ सातौं स्थानमा रहेर २४ हजार ३३३ रुपैयाँ प्रति व्यक्ति पाए। रवि खड्काले अन्तिम राउण्डमा १-अन्डर ६७ अंक जोड्दै कुल इभन-पार २७२ अंक सहित १०औं स्थानमा रही २० हजार रुपैयाँ कमाए।

 

विजेता भुवनले अगाडिको नौ होलमा चार-अन्डर ३० र पछाडिको नौ होलमा दुई-ओभर ३६ को स्कोर खेले। फाइनल राउण्ड सम्ममा सञ्जय लामाभन्दा एक स्ट्रोक अगाडि रहेका भुवनले पहिलो, दोस्रो, तेस्रो र चौथो होलमा लगातार चारवटा बर्डीसँगै आठौं होलमा अर्को थपे। उनले टर्न लिनु अघि सातौंमा एक्लो बोगीको खेलेका थिए। पछिल्लो नौमा भुवनले १४औं र १५औं होलमा सट ड्रप गरे भने अन्य सात होलमा आफ्नो पार जोगाए। जयराम छ-अन्डर ६२ को उत्कृष्ट पारी खेल्दै दोस्रो स्थानमा उक्लिए। उनले अघिल्लो नौमा चार-अन्डर ३० बनाए भने पछिल्लो नौ होलमा दुइ-अन्डर ३२ को स्कोर बनाए। उनले पहिलो, दोस्रो, चौथो, छैठौं र सातौँ होलमा बर्डी खेले भने पाँचौँ होलमा बोगी खेले। टर्न लिएपछि भने, जयरामले दशौँ र तेरौं होलमा बर्डी खेले।

 

आफ्नो पहिलो नौ होलमा इभन-पार ३४ बनाएका सन्जयले पछिल्लो नौ होलमा दुइ-ओभर ३६ खेले। उनले दोस्रो होलको बोगीका विरुद्ध छैटौं होलमा बर्डी खेले। पछिल्लो नौ मध्ये १२औं, १५औं र १८औं होलमा सट ड्रप गरेका सन्जयले तेरौं होलमा एउटा मात्र बर्डी खेले। अमेच्योर तर्फ सुवास तामाङले पाँच-अन्डर २६७ को कुल स्कोर बनाउँदै विजयी भए। अन्तिम दिनमा एक-ओभर ६९ बनाएका सुवास समग्रमा चौथो रहे। यस्तै अमेच्योर तर्फ सुरेश तामाङ (७३) २९१ बनाउँदै दोस्रो भए भने गजेन्द्र गुरुङ (७२) २९२ बनाएर तेस्रो भए।

 

सूर्य नेपाल प्रालिको प्रायोजनमा प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले आयोजना गरेको यो ७२-होल प्रतियोगितामा ३८ पेशेवर र २२ एमेच्योर गरी कुल ६० खेलाडीले भाग लिएका थिए। प्रतियोगितामा शीर्ष २१ प्रोफेसनल खेलाडीले नगद पुरस्कारको आफ्नो अंश प्राप्त गरे। प्रतियोगिताका विजेताहरुलाई सूर्य नेपालका ब्रान्ड म्यानेजर रजत थापा, आरएनजीसीका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र पीजीए नेपालका सल्लाहकार घनश्याम थापाले पुरस्कार वितरण गरेका थिए ।