२०८० चैत्र १५ , बिहिवार

युवा बिदेश पलाएन हुने रहर कि बाध्यता ?

धर्मराज रिजाल – भन्न त देशका खम्बा भनेका युवाहरु हुन भनिन्छ तर यो कुरा कतिपय देशमा लागु नहुन पनि सक्छ । यस्को ज्वालान्त उदाहरण हो हाम्रै देश नेपाल । यहाँ युवाहरु विदेशीन्छन र उमेर पुगेर बाँकी जिवन आरामदायी तरीकाले बिताउने व्यक्तिले देश चलाई रहेका छन् । यो देशका युवाहरु रहरले भन्दा यँहाको परिस्थितले गर्दा बाध्यताले बढी बिदेशीन्छन ।

 

नेपालका धेरैजसो युवाहरु खाडी लगायतका देशमा छन । कोही आफ्नो घर खर्च जोहो गर्न, बाल बच्चालाई गुणस्तरिय शिक्षा प्रदान गर्न र ती बुढा बा आमाका फुटेका हात निको पार्न नसक्ने परिस्थिती सिर्जना भएकाले उनीहरु बाध्यताले देश छोडेका हुन । कोही आफुले रोजेको र खोजेको पढ्न र त्यो अनुसारको काम पाउन नसकेकाले यो देश छोड्न बाध्य भएका हुन र कोही भने स्वइच्छाले बिदेशीएका छन् । यँहा स्वइच्छाले भन्दा बाध्यताले विदेशीने बढी छन् । पढ्न गएकाहरु पनि यो देशमा फर्कने इच्छा राखदैनन, राखुन पनि कसरी ? विदेशमा हुदा छिटो र सहज तरिकाले काम गरिरहेका यँहा आएपछि सरकारबाट प्राप्त हुने सामान्य कामका लागी तीन चार दिन धाउनु पर्छ र त्यही पनि घुस(पैसा) नदिई काम हुदैन । केहि गर्छु भनेर खट्ने पनि दिक्क पर्छ । नेताहरुको झुटो आसवाशन, ठट्यौली गफ र एक अर्का माथिको आरोप प्रत्यारोपले न त देश बन्छ न त बिकासउन्मुख नै हुन्छ ।

 

यहि देशमा बसेर रोजेको र खोजेको पढ्छु भन्नलाई, एउटा व्यवस्थित विश्वविद्यालय छैनन । भएका विश्वविद्यालयमा न त समयको माग अनुसारको विषय पढ्न पाईन्छ न त परिक्षा समयमा गराउछ । चार वर्षको कोर्ष सक्नलाई पाँच-छ वर्ष लाग्छ र भने जस्तो शिक्षा पाउन पनि गाह्रो हुन्छ । जनतन देश विदेशमा पढ्यो, त्यो स्तरको काम हुँदैन जस्तै Artificial Intelligence, Aerospace आदी । यहि देशमा बसेर केही काम गरौ भन्यो भने चित्त बुझ्दो पारिश्रमीक हुदैन जस्ले गर्दा परिवार पाल्न धौ धौ हुन्छ र धेरै परिश्रमका बावजुत पनि बिदेशीन बाध्य हुन्छन । राजनितिक अस्थिरता यस्को मुख्य कारण हो, पद र कुर्सीको लागी सधै लडिरहने बानी परेका नेताहरुलाई बिकास के हो भन्ने नै थाहा छैन । भिजन नभएका र नेतृत्व गर्न नसक्नेहरुले देशको नेतृत्व गर्दा नै धेरैले अवसर नपाएर विदेश पलाएन हुन बाध्य भएका हुन ।

 

यदि युवालाई देशमै राख्न सक्ने हो र युवाले खोजे जस्तो अवसर उपलब्ध गराउन सक्ने हो भने देशले चाडैनै मुहार फेर्नेछ । यसका लागी राजनितिक स्थिरता, समय अनुसारको शिक्षा, शिक्षा र सिपअनुसारको अवसरहरु उपलब्ध हुन सक्यो भने युवाहरु विदेश पलाएन हुनवाट रोकिन्छन र दक्ष जनशक्ति देशमै परिचालन हुन्छन र देशको बिकास हुन्छ । अतः युवा जनशक्ति देशमै परिचालन गरौ र त्यसका लागी चाहिने पूर्वाधारहरु निर्माण गर्न तर्फ लागौ जस्ले गर्दा भोलीका दिनहरुमा आउने नँया पुस्ताहरुले यस्तो समस्या भोग्न नपरोस । दक्ष जनशक्ति पलाएन हुन बाट रोकौ, घुसिया प्रणाली रोकौ र देश निर्माणमा लागौँ ।