२०८१ बैशाख २७ , बिहिवार

आई ओ एफ टि सि द्वारा रेफ्री सेमिनार सम्मपन्न

सुनाखरी न्युज/ काठमाडौं । अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिप एक गैह्र नाफामूलक सँस्था सन २००० सालमा स्थापना भएको हो । जसको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकाको पोर्टल्याण्डमा रहेको छ ।

 

आफ्नो स्थापना कालदेखि विभिन्न देशहरुमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरु सफलतापूर्वक सम्पन्न गरी आफ्नो छुट्टै पहिचान वनाउन सफल रहेको यो सँस्थाले तेक्वान्दो खेलको साथसाथै विभिन्न समयमा सामाजिक कार्यहरुमा समेत सहभागिता एवं सहयोग प्रदान गर्दै आएको छ । २०७२ सालमा नेपालमा भूकम्प गएको वेला समेत यो सँस्थाले भूकम्प प्रभावित विभिन्न गाउँ टोल वस्तिहरुमा आफ्नो उपस्थिति जनाई राहत वितरण गरेको थियो । त्यसै गरी नेपालमा अनाथ बालवालिकाहरुका लागि समेत राहत प्रदान गर्दै आइ रहेको छ ।

 

साथै कोरोना महामारीको वेलामा समेत विभिन्न राहतका कार्यक्रमहरु बनाई खेलकुद सामाग्रीहरुका साथसाथै खाद्यान्न वितरण समेत गरेको थियो । खेलाडीहरुको प्रोत्साहनका लागि वेला वखतमा खेलाडी एवं प्रशिक्षकहरुलाई पुरस्कार तथा प्रशंसा पत्रहरु समेत यो सँस्थाले प्रदान गर्दै आएको छ । कोरोना महामारीका समयमा सवै खेल गतिविधिहरु बन्द रहेको अवस्थामा समेत तेक्वान्दो खेलको पुम्से विधामा दुई पटक अनलाईन च्याम्पियनसिप तथा एक पटक तेक्वादो रिफ्रेसर सेमिनार समेत सफलतापूर्वक सम्पन्न गरी संसारभरीका तेक्वान्दो कर्मीहरुलाई हौंसला प्रदान गर्नुका साथै तेक्वान्दो खेल सम्वन्धी व्यवहारिक ज्ञानहरु प्रदान गराउन समेत सफल भएको कुरा विगतमा भए गरेका कामहरुबाट प्रष्ट हुन्छ ।

 

यसै सन्दर्भमा यहि सन २०२२ मार्च २५ र २६ तारीखमा अन्तर्राष्ट्रिय स्तरको नि:शुल्क अनलाईन रेफ्री सेमिनार सन्चालन गरी भव्य रुपमा सम्पन्न गरेको छ । आई ओ एफ टि सि प्रधान कार्यालयले उक्त सेमिनार संचालन गर्नका लागि पुम्से विधाका विज्ञ अन्तर्राष्ट्रिय निर्णायक तथा विश्व तेक्वानदो पुम्से कमिटिका सदस्य ग्राण्ड मास्टर रेमण्ड सु (Raymond Hsu) र गेरुगी (फाईट) विधाका विज्ञ अन्तर्राष्ट्रिय निर्णायक तथा अमेरिकन तेक्वान्दो कमिटिका उप-सभापति मास्टर एन्जेला हम्मेल डेओलिभेरा (Master Angela Hammail DeOliveria) लाई प्रारिश्रमिक दिने गरी प्रशिक्षण प्रदान गरी दिने व्यवस्था मिलाएको थियो । सन २०२२ मे १३ र १४ तारीखमा संयुक्त राज्य अमेरिकाको मिशिगनमा हुन गई रहेको “१३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता” को पूर्व सन्ध्यमा सम्पन्न भएको यस सेमिनारमा ३० देशका पुम्से र गेरुगी (फाईट) विधाका १९१ जनाको सहभागिता रहको थियो । जसमा जुम लिंक मार्फत तथा फेसबुक लाईभ मार्फत तेक्वान्दो खेलका प्रशिक्षक एवं खेलाडीहरुले सहभागिता जनाएका थिए ।

 

उक्त सेमिनार संचालनका लागि आई ओ एफ टि सि प्रधान कार्यालयका महा-सचिव समेत रहेका मास्टर केरेन व्ल्याकेज (Karen Blackledge), आई ओ एफ टि सि प्रधान कार्यालयका बोर्ड डाईरेक्टर दिवाकर “डान” महर्जनले महत्वपूर्ण भूमिका निभाएका थिए । साथै यो सँस्थासित सहकार्य गर्दै आउनु भएका अन्य विभिन्न व्यक्तित्वहरुको समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समन्वयात्मक भूमिका रहेको थियो । सेमिनारमा सहभागि सवैलाई सहभागिताको प्रमाण-पत्र इमेल मार्फत पठाईने कुराको समेत सो सँस्थाका बोर्ड डाइरेक्टर दिवाकर “डान” महर्जनले जानकारी गराएका छन ।