२०८१ जेठ ४ , शुक्रवार

काठमाडौंको फोहोर उठाइसक्न दुई हप्ता लाग्ने, किन हुन्छ बारम्बार अवरोध ?

सुनाखरी न्युज/ काठमाडौं ।

 

काठमाडौं उपत्यकाबाट  झण्डै तीन हप्ता फोहोर उठ्न नसकेपछि अहिले पनि धेरै ठाउँमा थुप्रो लागेका छन् । नियमित रुपमा पूर्ण क्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब दुई हप्ता लाग्ने महानगरपालिकाको अनुमान छ ।

१ फागुनदेखि तीन पिप्लेका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै १२ दिन अवरोध गरेका थिए । फेरि फगुनको अन्तिम साता सिसडोल र बञ्चरेडाँडाका स्थानीयले एक हप्ता फोहोर फाल्न रोकेका थिए । फागुन महिनामा मात्रै काठमाडौंमा १९ दिन फोहोर उठ्न सकेन ।

महानगरपालिकाको वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार करिब २०० सवारीले नियमित रुपमा नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोर लगिरहेका छन् । उनका अनुसार नियम रुपमा फोहोर उठाउन अवरोध नभएमा एकदेखि दुई हप्ताभित्र उपत्यकाको फोहोर सिसडोलमा बिर्सजन गर्न सकिने छ ।

श्रेष्ठका अनुसार ‘टाइम कार्ड’ लागू गर्ने निर्णय भएकाले योजनाअनुसार एकैदिनमा धेरै फोहोर लैजान कठिन हुनेछ । स्थानीयले माग गरेबमोजिम विहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै ल्यान्डफिल साइटमा फोहोर बोकेका गाडी जान पाउनेछन् ।

हाल उपत्यकाभर १५ देखि २० हजार टन फोहोर थुप्रिएको महानगरपालिकाको वातावरण विभागको अनुमान छ । तर, दैनिक करिब १ हजार टन मात्रै फोहोर ल्यान्डफिल साइट लैजान सम्भव छ ।

सरकारी तथ्यांकअनुसार सामान्य अवस्थामा काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५१७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५३७ टन फोहोर उठ्नुपर्ने हो ।