२०८१ जेठ ७ , सोमवार

लगानी र पर्यटन प्रवद्र्धनमा नेपाल र जर्जियाबीच सहकार्य हुने

सुनाखरी न्युज/ काठमाडौं । नेपाल र जर्जियाले पर्यटन र लगानी प्रवद्र्धनमा सहकार्य गर्ने भएका छन् । नेपाल भ्रमणमा रहनु भएका भारतका लागि जर्जियाका राजदूत अर्चिल जुलियाशभिलीले दुई देशबीचको आर्थिक सहकार्य विस्तारमा जोड दिनुभयो ।

 

नेपाल उद्योग परिसंघमा परिसंघ नेतृत्वसँगको छलफलमा राजदूत जुलियाशभिलीले नेपाल भ्रमणमा धेरै जर्जियाली नागरिक ईच्छुक रहेको पनि उल्लेख गर्नुभयो । ‘नेपालमा पर्वतारोहणका लागि धेरै जर्जियाली नागरिक ईच्छुक छन्,’ उहाँले भन्नुभयो, ‘हामीले पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न सक्छौँ ।’उहाँले नेपाल उद्योग परिसंघ र जर्जियाको निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी नेपालमा लगानी प्रवद्र्धनमा सहकार्य गर्न सकिनेमा पनि जोड दिनुभयो । जर्जियालाई नेपालमा उत्पादन हुने वस्तुहरुको निर्यात गन्तव्यको रुपमा विकास गर्न सकिने उहाँले बताउनुभयो ।

 

छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युत र पर्यटन क्षेत्रमा अपार लगानी संभावना रहेकाले जर्जिया र अन्य युरोपेली देशका लगानीकर्ताले यहाँ लगानी गर्न सक्ने बताउनुभयो । उहाँले नेपाली हस्तकला, गलैँचा र कपडान्य उत्पादनको राम्रो निर्यात गन्तव्य बनाउन आपसी सहकार्यमा राजदूत जुलियाशभिलीलाई आग्रह गर्नुभयो । अध्यक्ष अग्रवालले कोभिड १९ को प्रभाव कम हुँदै गएको नेपाली अर्थतन्त्रको शीघ्र पुनरोत्थानका लागि आन्तरिकसँगै बाह्य लगानी आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा लगानीका लागि जर्जियाली लगानीकर्तालाई उत्प्रेरित गर्न पनि राजदूत जुलियाशभिलीलाई आग्रह गर्नुभयो ।

 

भेटका क्रममा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपाल र भारतबीच भएको व्यापार सन्धीअनुसार नेपालमा उत्पादन हुने वस्तुहरु भन्सार छुटको सुविधामा भारत प्रवेश गर्न सक्ने भन्दै नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले बजारको चिन्ता लिनु नपर्ने बताउनुभयो । छलफलमा परिसंघका गभर्निङ काउन्सिल सदस्य एवं नेपालका लागि जर्जियाका अवैतनिक वाणिज्यदूत शिवरतन शारडा, परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल र वीरेन्द्रराज पाण्डे एवं महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो ।