२०८० चैत्र १६ , शुक्रवार

युक्रेनको आग्रहमा स्कटल्याण्डसँग हुने विश्वकप छनोट प्ले–अफ खेल स्थगित

सुनाखरी न्युज/ काठमाडौं ।

युक्रेन र स्कट्ल्याण्डबीचको विश्वकप छनोट प्ले–अफ खेल तत्कालका लागि स्थगित भएको छ। मार्च २४ मा हुने प्लेअफ अन्तर्गतको सेमिफाइनलमा युक्रेनको अनुरोधमा स्थगित गरिएको फिफाले जनाएको छ। रुसले गरिरहेको आक्रमणका कारण तत्काल खेल्न सक्ने अवस्था नरहेको भन्दै युक्रेनले यसअघि नै फिफासमक्ष खेल स्थगित गर्न माग गरेको थियो। सोही मागकै आधारमा फिफाले खेल तत्कालका लागि स्थगित गरेको हो।

 

यो सँगै मार्च २९ का लागि तय भएको प्लेअफ फाइनल पनि पछि धकेलिने भएको छ। खेलको नयाँ मितिबारे छलफल भइरहेको छ। विश्वकप फुटबल खेल कतारमा आउँदो नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछ ।आक्रमणको कारण अहिले युक्रेनमा फुटबलका गतिविधिहरु पूर्णरूपमा प्रभावित बनेको भन्दै जानकारहरुले युक्रेनको खेल सार्नुपर्ने उल्लेख गरेका थिए।उता फिफाले रूसलाई फुटबलमा प्रतिबन्धनै लगाएको छ। अवस्थाबारे युरोपेली फुटबल महासंघ र फिफाले रसियालाई फुटबलका गतिविधिमाथि अनिश्चित कालसम्मका लागि प्रतिबन्ध लगाएको छ। युक्रेनका चर्चित खेलाडीहरू ‍रूस विरुद्धको लडाइँमा सक्रिय युक्रेनका चर्चित खेलाडीहरू रूस विरुद्धको लडाइँमा सक्रिय सहभागी भएका छन्।

विश्व बक्सिङ च्याम्पियन, फुटबल स्टार, धेरै प्रतियोगितामा जित हासिल गरेका चर्चित तथा सक्रिय खेलाडीहरू रुस विरुद्धको लडाइमा सहभागी भएका हुन्। बक्सिङ विश्व च्याम्पियन तथा किएभका मेयर भिताली क्लीट्चकोले हतियार लिएर आफू पनि लडाइमा उत्रिन तयार रहेको बताए। “मैले धेरै हतियारहरू चलाउन जानेको छु, त्यो सीप र ज्ञानलाई म देशको रक्षाका लागि प्रयोग गर्न तयार छु,” उनले भने। अर्का पुराना खेलाडी ५० बर्षिया वलाडिमिरले पनि आफू स्वयंसेवी भएर देशका लागि लड्ने अठोट व्यक्त गरे।यस्तै दुई पटकका ओलम्पिक पदक विजेता तथा तीन पटकका विश्व च्याम्पियन बक्सर भिसिली लोमाचेन्को पनि युद्धमा होमिएका छन्।

 

३४ वर्षीय लोमाचेन्को हतियार लिएर मैदान उत्रिएको तस्बिर समेत सार्वजनिक भएको छ।केही फुटबलर भने एक महिनापछि युद्ध मैदानमा जाने तयारीमा छन्। युरोपियन लिगहरू र विश्वकप छनोटको प्लेअफको खेलपछि फुटबल खेलाडीहरू युद्धमा होमिने तयारीमा छन्। क्रेनले विश्वकप छनोटको प्लेअफमा स्कटल्यान्डसँग खेल्दैछ। युक्रेनको चर्चित क्लब डाइनामो किएभका नौं खेलाडी युक्रेनको राष्ट्रिय टिममा छन्। उनीहरूले आगामी महिना हुने विश्वकप छनोटपछि युद्धमा होमिने बताएका छन्। यस्तै अर्को क्लब डिनिर्प्रोका खेलाडी पनि देशका लागि लड्ने बताएका छन्। क्लबका अध्यक्ष युरी बेरेजाले देशलाई बचाउन आफूहरू तयार रहेको बताए।

 

यता जारी युद्धका कारण दुई जना फुटबल खेलाडीको मृत्यु भएको छ। २१ वर्षीय भिताली सापप्यलो र २५ वर्षीय डिभित्रो मार्टनेन्कोको मृत्यु भएको हो। भिताली लिभका पूर्व खेलाडी हुन्। उनको किएभमा मृत्यु भएको हो।एफसी गोस्टोमेलका मिडफिल्डर मार्टनेन्कोको अपार्टमेन्टमा आमासँग रहेको बेलमा ज्यान गएको हो। रूसी आर्मीको अपार्टमेन्टमा बम प्रहारबाट उनको मृत्यु भएको हो।रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको बिहीबार आठौं दिन पुगेको छ।

 

रूसी सैनिकहरूले जमिन र आकाश दुबैतिरबाट युक्रेनका ठाउँ ठाउँमा आक्रमण गरिरहेका छन्। अहिलेसम्म सयौं मानिसहरूको मृत्यु भएको छ। कति मानिसले ज्यान गुमाए भन्ने विस्तृत विवरण आउन बाँकी छ। रूसी आक्रमणपछि १० लाख युक्रेनीले मुलुक छोडेको संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालयले जानकारी दिएको छ।बालबच्चा, बुढाबुढीसहित युक्रेनीहरू विभिन्न माध्यमबाट देश छोडिरहेका छन्। उनीहरूलाई छिमेकी पोल्यान्डसहित युरोपका विभिन्न मुलुकले शरण दिएका छन्।  एजेन्सी