२०८० चैत्र १६ , शुक्रवार

नेपाल टी-२० विश्वकपमा छनोट हुन असफल

सुनाखरी न्युज/ काठमाडौं । टी-२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ। आइसिसी टी-२० विश्वकप छनोटको निर्णायक खेलमा युएईसँग पराजित भएपछि नेपालको ८ वर्षपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको हो।

 

नेपाललाई मंगलबार ओमानमा भएको विश्वकप छनोटको सेमिफाइनलमा युएईले ६८ रनले पराजित गर्‍यो। जितसँगै युएई भने आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट भएको छ। युएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा १०७ रनमा अलआउट भयो। नेपालले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो। चौथो बलमा आसिफ शेख र पाँचौ बलमा लोकेश बम शून्यमा आउट भएका थिए। दुवैलाई युएईका जुनइद सिद्धिकीले आउट गरे। त्यसपछि कुशल भुर्तेल तेस्रो ओभरमा जुनइदकै बलमा ७ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो। चौथो विकेटको रुपमा आरिफ शेख ११ रनमा आउट भए। त्यसपछि दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्लले नेपालको इनिङ्ग्स उकास्न खोजेका थिए। तर दुवै जना १३औं ओभरको चौथो बल र पाँचौ बलमा आउट भएपछि नेपाल हार उन्मुख भएको थियो। दीपेन्द्र ३८ रन र ज्ञानेन्द्र २० रन जोडेर आउट भए। दुवै जनालाई अहमेद राजाले आउट गरेका थिए।

 

त्यसपछि कप्तान सन्दीप लामिछाने ४ रन र विवेककुमार यादव ८ रनमा आउट भए। सन्दीप र विवेकलाई पनि १६औं ओभरको चौथो र छैटौं बलमा युएईका अहमेदले नै आउट गरेका थिए। दुवै क्याच आउटको सिकार भए। त्यसपछि कमलसिंह ऐरी ४ रन र जितेन्द्र मुखिया ५ रनमा आउट भए। बलिङमा युएईका कप्तान अहमेद राजाले ५ विकेट लिए। उनले चार ओभरमा १९ रन खर्चिए। यस्तै मोहमद सिद्धिकीले ३ विकेट हात पारे। त्यसअघि ओमानको अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो। युएईका लागि ओपरन मोहमद वासीमले अर्धशतक प्रहार गरे। उनले ७० रन जोडे। ४८ बलमा ४ चौका र ४ छक्का हिर्काएका उनलाई अभिनास बोहराले १७औं ओभरमा आरिफ शेखबाट क्याच गराएका थिए।

 

नेपालविरूद्ध युएईले पहिलो ६ ओभरको पावरप्लेमा १ विकेटको क्षतिमा ५८ रन जोड्यो। युएईका ओपनिङ ब्याट्सम्यान चिराग सुरीलाई जितेन्द्र मुखियाले ४ रनमा बोल्ड गरेका थिए। यद्यपी जितेन्द्रले चौथो ओभरमा उनले १८ रन खर्चिए। यो ओभरमा उनले दुई चौका र एक छक्का दिए। युएईका विकेटकिपर ब्याट्सम्यान बृत्य अरविन्दले ४६ रन जोडे। २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका उनलाई नेपालका कप्तान सन्दीप लामिछानेले बोल्ड गरेका थिए। जितेन्द्रले १८ ओभरमा बासिल हमिदलाई २ रन र जाफर फइदलाई ११ रनमा आउट गरेका थिए। बलिङमा नेपालका जितेन्द्र मुखिया र अभिनास बोहराले ३-३ विकेट लिए। कप्तान सन्दीप लामिछानेले १ विकेट हात पारे।