
सुनाखरी न्युज/ काठमाडौं ।
स्रोत नखुलेको अवैध नेपाली तथा विदेशी रकमसहित प्रहरीले काठमाडौंको ठमेलबाट एक माल्दिभ्स नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी परिसरका अनुसार ठमेलस्थित स्नोलाइन होटलमा अवैध रकम लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार चितवनको बिसौनीकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई ठमेलबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १७ ठमेलस्थित स्नोलाइन होटेलमा अवैध स्रोत नखुलेको रकम लुकाइछिपाइ राखेको भन्ने सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटेलमा खानतलासी तथा जाँच गर्दा उनीहरूको साथबाट ५० लाख ५० हजार रुपैयाँ नेपाली नगद बरामद गरेको हो।
प्रहरीले उनीहरूको साथबाट नेपाली रुपैयाँसँगै ४ हजार २१५ . ०९ ओमानी रियाल र ५५ युएई दिरामसमेत बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई बरामद रकमको स्रोतका विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए।