२०८३ मंसिर ८ , सोमवार

प्रधानमन्त्री शाह आज भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्दै

Split-Screen-South-Asian-Leaders_DnqCZ6csPd_vs26iv4dkh3bbfil8aobwyl5blnn1xlo4ybrebdhfcya2fexjng2yotswivp_TB9BKBNaA0_xsemficqslsqjka4xvf875hyduaygjfbctc0i5ebhl4txxn1afmd0or0u7zm

सुनाखरी न्युज/ काठमाडौं । 

प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो राजकीय भारत भ्रमण हो । प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा ३५ सदस्यीय औपचारिक प्रतिनिधिमण्डल सहभागी छ । टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकार तथा उच्चपदस्थ सरकारी अधिकारीहरू छन् । यसबाहेक ५२ जना उद्योगी–व्यवसायी र दुई दर्जनभन्दा बढी सञ्चारकर्मी पनि भ्रमण टोलीमा सहभागी छन् ।

आइतबार साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नयाँदिल्लीस्थित होटल ताज पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका थिए । त्यसअघि उनले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए । प्रधानमन्त्री शाहको आजको कार्यतालिकाअनुसार बिहान १० बजे भारतको राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत कार्यक्रम हुनेछ । त्यसपछि उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मध्याह्न १२ बजेर २५ मिनेटमा हैदराबाद हाउसमा भेटवार्ता हुने कार्यक्रम छ । भेटवार्तापछि दुवै देशबीच भएका द्विपक्षीय सम्झौता तथा समझदारीपत्र आदानप्रदान गरिनेछ । त्यसलगत्तै दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि प्रधानमन्त्री शाहले दिउँसो ३ बजेर १५ मिनेटमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्नेछन् । भ्रमण सम्पन्न गरी उनी अपराह्न ४ बजेर ५० मिनेटमा स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार विकास तथा हवाई प्रवेशमार्गलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन तथा शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपीन आचार्यले भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपालको दीर्घकालीन हितलाई केन्द्रमा राखेर द्विपक्षीय विषयमा स्पष्ट अडान राख्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।