
सुनाखरी न्युज/ काठमाडौं ।
मन्त्रिपरिषदले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने राजकीय भारत भ्रमणलाई स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भ्रमण स्वीकृतसँगै नेपाली प्रतिनिधमण्डल गठन गर्ने निर्णय भएको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भ्रमण स्वीकृत गरेको हो।
‘२०८३ मंसिर ६ र ७ गते प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषदका निर्णय सुनाउँदै सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले भने, ‘उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि भएको छ।’ प्रधानमन्त्री शाह ३४ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै मंसिर ६ गते भारतको राजकीय भ्रमणमा जानेछन्।
प्रधानमन्त्री शाह आइतबार मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गर्ने भएका हुन्। भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह लगायतका उच्च पदस्थ अधिकारी रहेनछन्। प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मंसिर ७ गते प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन्।
दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा उर्जासम्बन्धी परियोजना उद्घाटन गर्ने कार्यक्रम छ। व्यापार, पारवाहन, लगानी, सम्पर्क सञ्चाल र पूर्वाधार लगायतका विषयमा आर्थीक सहकार्यका विषयमा छलफल हुनेछ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू–
–२०८३ मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
–चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने ।
–अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिट क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
–नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने ।
–राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६ / २०३० स्वीकृत गर्ने ।
–ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने ।
–राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने ।