
सुनाखरी न्युज/ काठमाडौं ।
तिहार सुरु भएसँगै काठमाडौंका मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक र सुन्धारामा किनमेल गर्नेहरूको घुइँचो बढेको छ । काजु, नरिवल, छोकडा, ल्वाङ, बदाम, किसमिस, ओखर, मखना, मिश्री, दालचिनी, सुकुमेल र अन्जिरजस्ता मसलाले सजिएका पसलमा ग्राहकको भिड लागे पनि यसपालि मूल्य सुनेर धेरै उपभोक्ता झस्किएका छन् । तिहार सुरु भइसक्दा बजारमा भाइमसलाको भाउ छोइनसक्नु भएको छ । केही मसलाको मूल्य गत वर्षको तुलनामा दोब्बरले अकासिएको छ ।
यस वर्ष भाइमसला खरिद गर्न बजार पुगेका उपभोक्तालाई सबैभन्दा ठूलो झट्का पिस्ताको मूल्यले दिएको छ । सबैभन्दा बढी मूल्य पिस्तामा बढेको छ । गत वर्ष प्रतिकिलो २ हजार रुपैयाँ रहेको पिस्ताको मूल्य यस वर्ष ४ हजार रुपैयाँभन्दा माथि पुगेको छ । त्यसैगरी बदाम र ओखरको मूल्यले पनि उपभोक्ताको ढाड सेकेको छ । गत वर्ष १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँ प्रतिकिलोमा पाइने बदाम अहिले १ हाजर ८ सय रुपैयाँ पुगेको छ । ५ सय रुपैयाँ किलोमा पाइने ओखरलाई अहिले ६ सय देखि ६ सय ५० रुपैयाँ तिर्नुपरेको छ । सुकमेलको मूल्य पनि गत वर्ष ७ हजार रहेकोमा यस वर्ष ८ हजार रुपैयाँसम्म पुगेको साहले जानकारी दिए ।
यस्तै काजु पनि प्रतिकिलो २ हजारदेखि २ हजार २ सय रुपैयाँसम्म पुगेको छ । उनका अनुसार मखनाको मूल्य अहिले बजारमा प्रतिकिलो २ हजार रुपैयाँ छ । नरिवल १ हजार र किसमिस ५ सयदेखि ६ सय रुपैयाँमै होलसेलमा बिक्री भइरहेको छ । उपभोक्ताहरू आफ्नो गच्छे अनुसार प्याक गरिएका वा खुला भाइमसला खरिद गरिरहेका छन्, तर समग्रमा तिहारको बजेट भने निकै बढेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तिन महिना ९साउनदेखि असोजसम्मको अवधिमा झन्डै ३ अर्ब रुपैयाँभन्दा बढीको ड्राइफ्रुट्स नेपाल भित्रिएको छ। तथ्यांकअनुसार तिहार लक्षित गरी आयातकर्ताहरूले ठूलो परिमाणमा काजु, ओखर, बदाम, पेस्तालगायतका ड्राइफ्रुट्स आयात गरेका हुन्। चाडपर्वको समयमा विशेष गरी तिहारलाई लक्षित गरेर साउनदेखि नै ड्राइफ्रुटको आयात बढ्ने गर्छ। नेपालमा मुख्यतया चीन, भारत, अमेरिका, भियतनाम, कतार, यूएई, कुवेत, साउदी, इरानलगायतका देशहरूबाट ड्राइफ्रुट आयात हुने गर्छ। काजु भियतनाम र भारतबाट, ओखर अमेरिका र चीनबाट तथा बदाम मुख्य गरी अमेरिकाबाट धेरै आयात हुने गरेको तथ्यांकले देखाउँछ।