
सुनाखरी न्युज/ काठमाडौं ।
भारतको आन्ध्र प्रदेशमा ‘अर्नब’ नामक शक्तिशाली चक्रवातले जनजीवन अस्तव्यस्त बनाएको छ । यस प्राकृतिक विपद्का कारण हालसम्म ३ जनाको ज्यान गएको छ भने ३० वटा घरमा क्षति पुगेको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार आज बिहान तटीय क्षेत्रमा प्रवेश गरेको यो आँधीका कारण राज्यका ७१४ वटा गाउँ प्रत्यक्ष प्रभावित भएका छन् भने १६७ गाउँमा बाढीको उच्च चेतावनी जारी गरिएको छ ।
चक्रवातको प्रभावले रुख र बिजुलीका खम्बा ढल्नुका साथै तटीय क्षेत्रका होचा भूभागहरू डुबानमा परेका छन् भने किसानका पाकेका धानबाली नष्ट भएका छन् । प्रारम्भमा निकै आक्रामक बनेको यो चक्रवात जमिनमा प्रवेश गरेसँगै क्रमशः कमजोर हुँदै गएको छ र यसलाई गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने अनुमान गरिएको छ ।
यता, यस चक्रवातको बाहिरी घेरामा रहेका बादलहरू नेपालको आकाशसम्म आइपुग्ने मौसमविद्हरूले बताएका छन् । यसको प्रभावस्वरूप बिहीबार रातिदेखि देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको छ ।
विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा र हिमपात हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले उच्च हिमाली क्षेत्रमा नजान र आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।