
सुनाखरी न्युज/ काठमाडौं ।
यस वर्षको राष्ट्रिय भिटामिन ए कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। नियमित रुपमा कात्तिक २ र ३ गते खुवाइँदै आएको कार्यक्रम यसपटक दशैं परेकाले सरेको हो।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाले भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउनका लागि सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ। दोस्रो चरणमा भिटामिन ‘ए’ कार्यक्रम वैशाखमा महिनामा गर्ने गरिएको छ।
भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने भएको छ । भिटामिन ‘ए’ सबै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकेको छ ।