
सुनाखरी न्युज / काठमाडौं ।
नेपाल मौसम विज्ञान विभागले देशभर रहेका परम्परागत मौसम मापन केन्द्रहरूलाई चरणबद्ध रूपमा स्वचालित मौसम केन्द्रमा रूपान्तरण गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै सार्वजनिक गरेका श्वेतपत्रमा जलस्रोतको दिगो उपयोग, जलवायु अनुकूलन, हवाई सुरक्षा तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने योजना समेटिएका छन्। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा हिमनदी पग्लिने, हिमपहिरो जाने तथा हिमताल विस्फोटबाट बाढी आउने जोखिम बढिरहेको छ। यसलाई ध्यानमा राख्दै सरकारले जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको पाँचवर्षीय रणनीतिक योजना र मौसम विज्ञान विभागको श्वेतपत्रमार्फत नयाँ रणनीति सार्वजनिक गरेको हो।
चार जोखिमयुक्त हिमतालको पानीको सतह घटाइने
अत्यधिक जोखिममा रहेका मनाङको ठुलागी, सङ्खुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु–२ हिमतालको पानीको सतह घटाउन ‘ग्लोफ सञ्जीवनी आयोजना’ अघि सारिएको छ। सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने यस आयोजनाको कुल बजेट करिब ४९. ९ मिलियन अमेरिकी डलर रहेको छ। यसअघि दोलखाको रोल्वालिङ उपत्यकामा रहेको छो–रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालको पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरिएको अनुभवका आधारमा नयाँ हिमतालमा पनि आवश्यक उपाय अपनाइनेछ। हिमताल विस्फोटबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्नु यस आयोजनाको प्रमुख उद्देश्य हो।
६ नदी बेसिनमा बाढी पूर्वसूचना प्रणाली
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले ‘प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजना’ अन्तर्गत ६ वटा नदी बेसिनमा बाढी पूर्वसूचना प्रणाली जडान गरिरहेको छ। सन् २०२२ देखि २०२८ सम्म सञ्चालन हुने यस आयोजनाको लागत ७।५४ मिलियन अमेरिकी डलर रहेको छ। केन्द्रले जेठ १ देखि असोज मसान्तसम्म २४ सै घण्टा बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा सञ्चालन गर्ने जनाएको छ। चालु आर्थिक वर्षमा कर्णाली र नारायणी नदी बेसिनका लागि नयाँ बाढी पूर्वसूचना मोडल विकास गर्ने योजना पनि छ। त्यसैगरी, बागमती सुधार आयोजना अन्तर्गत २ करोड ६१ लाख रुपैयाँको लागतमा समुदायमा आधारित बाढी पूर्वसूचना प्रणाली निर्माण गरिनेछ। यसबाट बाढीको जोखिममा रहेका समुदायलाई समयमै सूचना पुर्याउन र सम्भावित क्षति कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मौसम पूर्वानुमानमा एआई र आधुनिक प्रविधि
नेपाल मौसम विज्ञान विभागले मौसम पूर्वानुमानको शुद्धता र विश्वसनीयता बढाउन कृत्रिम बुद्धिमत्ता ( एआई ) , मेसिन लर्निङ ९एमएल० र उच्च क्षमताको कम्प्युटिङ प्रणाली ( एचपीसी ) प्रयोग गर्ने योजना अघि सारेको छ। यसका साथै, देशभर रहेका ५०३ म्यानुअल मौसम मापन केन्द्रलाई क्रमशः स्वचालित मापन केन्द्रमा स्तरोन्नति गरिनेछ। सुर्खेत, पाल्पा र उदयपुरमा रहेका मौसमी राडारको मर्मतसम्भार गर्नुका साथै काठमाडौं उपत्यकामा एक्स–ब्यान्ड राडार जडान गर्ने प्रस्ताव गरिएको छ।माथिल्लो वायुमण्डलको अवस्था अध्ययन गर्न थप ६ प्रदेशमा रेडियोसोन्डे केन्द्र स्थापना गर्ने योजना पनि श्वेतपत्रमा समेटिएको छ। यी प्रविधिको प्रयोगबाट मौसमसम्बन्धी तथ्याङ्क संकलन, विश्लेषण र पूर्वानुमानलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।