
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१, २०२६ सम्म ‘आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ’ प्रतियोगिता काठमाडौंमा आयोजना गर्ने औपचारिक घोषणा गरेको छ।
प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अंकतालिकामा अन्तिम स्थानमा रहने चार टोलीका साथै आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई(दुई टोली सहभागी हुनेछन्।
५० ओभरको विश्वकप छनोट यात्राका लागि महत्त्वपूर्ण मानिएको यस प्रतियोगिताको क्वालिफायर प्ले-अफमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चार स्थान हासिल गर्ने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा संयुक्त रूपमा आयोजना हुने ५० ओभरको ‘आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर’ प्रतियोगिताका लागि छनोट हुनेछन्।
प्रतियोगितामा लिग–२ बाट नेपाल, यूएई, नामिबिया र क्यानडाले सहभागिता जनाउनेछन्। त्यस्तै, आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘बी’ बाट शीर्ष दुई स्थान हासिल गरेका इटाली र युगान्डाले पनि प्रतिस्पर्धा गर्नेछन्। च्यालेन्ज लिग ‘ए’ बाट सहभागी हुने दुई टोलीको टुंगो लाग्न भने बाँकी छ।
यसैबीच, काठमाडौंमा अन्तर्राष्ट्रिय क्वालिफायर प्ले(अफ आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच तय भएको क्रिकेट शृङ्खलाको खेलतालिका हेरफेर हुने भएको छ।