
सुनाखरी न्युज
काठमाडौं ।
नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चिनियाँ पक्षले आइतबार नाकाको गेट खोलेको हो। यद्यपि, गेट खुले पनि समाचार तयार पार्दासम्म कन्टेनरको आवतजावत सुरु भइसकेको थिएन।
‘गेट खोलिएको छ, आज भर्खरैबाट नाका खुलेको हो। कन्टेनर आउजाउ भने भइसकेको छैन। एक घण्टा लाग्ला, हामी तयारी अवस्थामा छौं,’ तिमल्सिनाले भने।
चीनले गत भदौ १५ देखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। भदौ १० मा भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा क्षति पुर्याएपछि चिनियाँ पक्षले तातोपानी नाका पनि बन्द गरेको थियो। तर, नाका बन्द गर्नुको कारण चिनियाँ पक्षले औपचारिक रूपमा स्पष्ट पारेको थिएन।
नाका पुनः सञ्चालनमा आउने तयारीस्वरूप अध्यागमन, भन्सारलगायत सम्बन्धित कार्यालयका कर्मचारीलाई तयारी अवस्थामा रहन शुक्रबार खबर आएको तिमल्सिनाले बताए।
बाह्रबिसे नगरपालिका–८ का वडाध्यक्ष तथा पुराना व्यवसायी विमलप्रसाद पौड्यालले नाका खुले पनि लामो समय सञ्चालन नहुने सन्देश चिनियाँ प्रशासनमार्फत पाएको बताए।