
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी २० दिनदेखि आन्दोलित बनेका छन् । सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने, चाडपर्व भत्ता दिनुपर्ने र श्रम अदालत भक्तपुरले गरेको फैसला कार्यान्वयन गर्नुपर्ने माग राख्दै भदौ २४ गतेदेखि कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनरत अधिकांश कर्मचारी उत्पादन शाखामा कार्यरत रहेकाले असोज ५ गतेदेखि कम्पनीको उत्पादनसमेत ठप्प भएको छ । कर्मचारीहरूले भदौ २४ गतेदेखि कालोपट्टि बाँधेर काम गर्दै आएका थिए । तर, अन्य कर्मचारीसरह सेवासुविधा उपलब्ध गराउन व्यवस्थापनले आनाकानी गरेको भन्दै करिब ३० जना कर्मचारी असोज ५ गतेदेखि नियमित धर्नामा बसेका छन् ।
‘२३ वर्षदेखि काम गर्दा पनि सेवासुविधा पाएका छैनौँ । नआएको दिनको पैसा काटिन्छ । हामीले राखेको माग सुनुवाई पनि भएको छैन । केही हुन्छ भनेर यसरी धर्ना बस्नुपरेको छ,’ उनले भनिन् । आफूहरूको काममा फर्कने चाहना भएपनि मागमा बेवास्ता गरिएको उनको भनाइ छ । आफूहरूको माग पूरा नहुँदासम्म धर्नालाई निरन्तरता दिने उनले बताइन् ।