
सुनाखरी न्युज/ काठमाडौं ।
परराष्ट्रमन्त्री शिशिर खनालले उपयुक्त समयमा प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुने बताएका छन्। यद्यपि, हालसम्म भ्रमणको औपचारिक मिति भने तय भइनसकेको उनले स्पष्ट पारेका छन्।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भई स्वदेश फर्किने क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणको समय तय नभए पनि दुवै पक्ष सकारात्मक रूपमा छलफलमा रहेको जानकारी दिएका हुन् ।
‘हामीले सुरुदेखि नै भन्दै आएका छौं, सरकार बन्नासाथ सम्माननीय प्रधानमन्त्रीज्यूलाई निम्तो आएको थियो र त्यसलाई हामीले सकारात्मक रूपमा लिएका थियौं,’ मन्त्री खनालले भने, ‘उपयुक्त अवसर पारेर एउटा परिणाममुखी भ्रमण गर्ने हाम्रो तयारी छ।’
भ्रमणको मितिबारे सोधिएको प्रश्नमा उनले थपे, ‘आजको अवस्थासम्म कहिले हुन्छ भन्ने यकिन छैन। तर भ्रमण सकेसम्म फलदायी र परिणाममुखी होस् भन्नेमा दुवै पक्षको अपेक्षा र चाहना छ।’