
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ । सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नभएसम्म सरकारले निर्धारण गरेको हालकै भाडादरमा यात्रुलाई सेवा दिने बताएका हुन् ।
महासंघले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि नभएसम्म सरकारले तोकेको हालकै भाडादरमा यात्रुलाई सेवा दिने जनाएको हो ।सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेसम्म सार्वजनिक यातायातको भाडा बढाउने कुनै योजना नरहेको स्पष्ट पारे ।
चाडपर्वमा यात्रुवाहक सवारीसाधनको सहज आवागमनका लागि निश्चित अवधिसम्म मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने र सडक मर्मतलाई तीव्रता दिनुपर्ने महासंघको माग छ । कमजोर सडक तथा ठाउँ–ठाउँमा भइरहेको सडक अवरोधका कारण यातायात सञ्चालन चुनौतीपूर्ण बनेको सिटौलाले बताए ।
उनले तोकिएका बसपार्क र आधिकारिक काउन्टरबाट मात्र टिकट बिक्री गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । बिचौलियाको गतिविधि नियन्त्रण गर्न सके यात्रु ठगीको समस्या न्यूनीकरण हुने उनको भनाइ छ ।