
सुनाखरी न्युज/ काठमाडौं ।
चार दिनदेखिको निरन्तर वर्षाका कारण ठाउँ ठाउँमा बाढी, पहिरो र डुवान भएको छ ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२, भुताहामा नारायणी नदीको बहाव बढेर बस्तीमा पानी पस्दा १७ घरधुरी जलमग्न भएको छ । बाढीका कारण जोखिममा परेका ६१ जना स्थानीय र पशु चौपायालाई सुरक्षित स्थानमा सारिएको छ ।
आइतबार बिहान ७ बजे नदीको पानी बस्तीमा पसेपछि प्रहरीले उद्धार टोली खटाएर जोखिममा रहेका स्थानीयलाई नजिकैको लिटिल फ्लावर बोर्डिङ स्कुल तथा आफन्तको घरमा व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितले बताए ।
बाढीका कारण घरमा रहेका सरसामानहरू सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । हालसम्म मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।
यसैगरी नदीमा बाढी आउँदा काठ दाउरा समाउन नारायणी नदी किनारमा पुगेका व्यक्तिलाई प्रहरीले हटाएको छ । सुरक्षाकर्मीले बाढी आउँदा नदी किनारमा नजान आग्रह गरे पनि अटेर गरेर दाउरा समाउन मानिस नदीमा पस्ने गरेका छन् ।