
सुनाखरी न्युज/ काठमाडौं ।
नागरिक शक्ति नेपालका महासचिव सुभास प्रसाद पाण्डे ले प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त राष्ट्रसंघको मञ्चमा नेपालको राष्ट्रिय तथा आध्यात्मिक पहिचान प्रस्तुत गरेको विषयलाई सकारात्मक रूपमा लिएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पाण्डेले प्रधानमन्त्री शाहले दौरा–सुरुवाल लगाएर नेपालको राष्ट्रिय पहिचान बोकी विश्वमञ्चमा नेपालको जिम्मेवारी प्रस्तुत गरेको उल्लेख गरेका छन्।
उनले संयुक्त राष्ट्रसंघमा भगवान् पशुपतिनाथसँग विश्वकल्याणको कामना गर्नु र भगवान् बुद्धले देखाएको शान्तिको मार्गमा विश्व अघि बढोस् भन्ने सन्देश दिनुलाई सकारात्मक पक्षका रूपमा व्याख्या गरेका छन्। पाण्डेले नेपालको सनातन आध्यात्मिक तथा सांस्कृतिक पहिचानलाई विश्वशान्ति र मानवकल्याणसँग जोडेर प्रस्तुत गरिएको भन्दै प्रधानमन्त्री साहलाई धन्यवादसमेत दिएका छन्।
यद्यपि, उनले प्रधानमन्त्री शाहको आगामी राजनीतिक सोच र प्रतिबद्धता आगामी दिनका कामबाट स्पष्ट हुने बताएका छन्। संविधानको आवश्यक परिमार्जनमार्फत नेपाललाई सनातन हिन्दु, बौद्ध र किरात सभ्यताको मौलिक पहिचानसहितको राष्ट्रका रूपमा स्थापित गर्ने दिशामा प्रधानमन्त्री कति दृढतापूर्वक अघि बढ्छन् भन्ने विषय महत्वपूर्ण हुने उनको भनाइ छ।