२०८३ आश्विन ९ , शुक्रवार

तीन दिन देखि लगातारको वर्षाले देशभर विभिन्न राजमार्ग अवरुद्ध

Highway

सुनाखरी न्युज/ काठमाडौं ।
तीन दिन देखिको लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र लेदो खस्दा प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । कतिपय सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ भने अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

चितवनमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको सम्बन्धित प्रहरीले जनाएको छ । विभिन्न स्थानमा पहिरो खस्नुका साथै थप पहिरोको जोखिम रहेकाले सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । बिहीबार साँझदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक शुक्रबार पनि खुलाइएको छैन ।

चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा सडक भासिएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र १० घण्टापछि सुचारु भएको छ ।

काभ्रेमै बीपी राजमार्गको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीमा शुक्रबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

पाँचथरमा पहिरोले फिदिम–फालोट सडकखण्ड अवरुद्ध भएको छ । फिदिमदेखि नाङ्गिन, याङनाम, सिदिन, प्राङबुङ हुँदै भारतको पश्चिम बंगाल जोड्ने सडक फिदिम र फालेलुङको सीमावर्ती आकाशभञ्ज्याङ नजिकै बिहीबार साँझदेखि अवरुद्ध भएको हो ।
गुल्मीमा कालीगण्डकी करिडोरको दुई स्थानमा यातायात अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो तथा वडा नम्बर ४ पातीखोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

लगातार भइरहेको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगामा होल्ड गरिएको छ ।
यसैगरी, लगातारको वर्षासँगै कान्ति लोकपथका ललितपुरतर्फका विभिन्न तीन स्थानमा पहिरो खसेपछि हेटौंडाबाट सञ्चालन हुने यातायात प्रभावित भएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।