
सुनाखरी न्युज/ काठमाडौं ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।बिहीबार बिहान बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरभन्दा करिब १०० मिटर अगाडि पहिरो झरेपछि सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पहिरोका कारण सडकको एकतर्फी भाग अवरुद्ध भएपछि अहिले सवारीसाधनलाई पालैपालो सञ्चालन गराइएको प्रहरीले जनाएको छ।
यस्तै, बेनीघाट रोराङ गाउँपालिका–९ स्थित ज्यामिरेमा पनि पहिरो खसेको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा अहिले पनि वर्षा भइरहेकाले थप पहिरोको जोखिम रहेको बताइएको छ। भोटेकोशी र त्रिशूली नदीमा भदौ १० र १४ गते आएको ठूलो बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक कटान हुँदा पृथ्वी राजमार्ग १८ दिनसम्म अवरुद्ध भएको थियो।
लामो समयको प्रयासपछि कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो।यसअघि भदौ १० र १४ गते भोटेकोशी र त्रिशूली नदीमा आएको भिषण बाढीले कृष्णभीर क्षेत्रमा सडक कटान गर्दा पृथ्वी राजमार्ग १८ दिनसम्म ठप्प बनेको थियो । पछि नयाँ ट्र्याक खोलेर असोज १ गतेदेखि मात्रै यातायात पुनः सञ्चालनमा ल्याइएको थियो ।