२०८३ आश्विन ६ , मंगलबार

फिल्म ‘टनेल २६’ असोज २३ गतेदेखि प्रदर्शनमा आउने

TUNNEL-26-final-poster-scaled-e1789831173943

 

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर चलचित्र ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’ आगामी अक्टोबर ९ अर्थात् असोज २३ गते नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने भएको छ । फिल्मको प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले नयाँ पोस्टरसमेत सार्वजनिक गरेको छ। पोस्टरमा अँध्यारो सुरुङ, त्यसमा देखिएका पात्रहरू र रहस्यमय वातावरणलाई प्राथमिकता दिइएको छ। पोस्टरले नै फिल्मको कथा पहाडमुनि रहेको सुरुङ र त्यहाँ लुकेको रहस्य वरिपरि घुम्ने संकेत गर्छ। सांगे सेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको फिल्ममा नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहभागिता छ।

फिल्मको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन् ।  फिल्ममा सांगे सेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन् । यसले तीन देशका कलाकारलाई एउटै हरर कथामा जोडेको छ।फिल्म निर्माणमा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, भुटानी अभिनेता सांगे सेल्ट्रिम तथा दोर्जी वाङ्चुकसहित विभिन्न निर्माताको सहकार्य रहेको छ।

निर्माण पक्षका अनुसार नेपाल र भुटानमा प्रदर्शनपछि फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा समेत लैजाने तयारी गरिएको छ। एसिया तथा उत्तर अमेरिकालगायतका बजारमा अन्तर्राष्ट्रिय वितरण साझेदारमार्फत प्रदर्शन गर्ने योजना रहेको बताइएको छ । तीन देशका कलाकार र प्राविधिकको सहकार्यमा बनेको यो फिल्मले नेपाली दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने चासोका बीच ‘टनेल २६’ असोज २३ गतेदेखि हलमा पुग्नेछ।