
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले २४ सेप्टेम्बर (८ असोज) मा संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन् ।
परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिएका हुन् ।
‘संयुक्त राष्ट्रसंघको ८१ औं महासभाको ‘हाई लेभल जनरल डिबेट’ २२–२८ सेप्टेम्बरसम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ,’ सचिव राईले भने, ‘महासभाको जनरल डिबेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहको छ ।’
महासभामा ८१ मुलुकका राष्ट्र प्रमुख र ५० मुलुकका सरकार प्रमुख सहभागी हुने जानकारी राष्ट्रसंघबाट प्राप्त भएको परराष्ट्र सचिव राईले बताए ।
प्रधानमन्त्री शाहले महासभामा अन्य विषयका अतिरिक्त जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नुपरेको जनधनको ठूलो क्षतिबारे विश्व समूदायको ध्यानाकर्षण गराउने कार्यक्रम तय भएको राईले बताए ।
उनले नेपालले नगण्य कार्बन उत्सर्जन गरेतापनि ठूलो मात्रामा जलवायु परिवर्तनका कारण नकारात्मक असरहरू भोग्नु परिरहेको विषय पनि विश्वसमक्ष प्रस्तुत गरिने बताए ।
प्रधानमन्त्री शाहले जलवायु न्यायका लागि विश्व समुदायलाई आह्वान गर्ने सचिव राईले जानकारी दिए । परराष्ट्र सचिव राईका अनुसार महासभामा नेपालले उच्चस्तरीय साइड इभेन्ट पनि आयोजना गर्नेभएको छ ।
विश्वव्यपी जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेका नकारात्मक प्रभाव र यसबाट सिर्जित विनासकारी परिणामका बारेमा छलफल गरी विश्व समुदायको ध्यानाकर्षण गर्नु उक्त कार्यक्रमको मूल उद्देश्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल अति कम विकसित मुलुकहरू, भू–परिवेष्ठित विकासोन्मुख मुलुकहरू, असंलग्न मुलुकहरू, जी ७० सेभन चाइनालगायतका मन्त्रिस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।