२०८३ भदौ २४ , बुधवार

जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन

gas

सुनाखरी न्युज/ काठमाडौं ।

हालैको बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएको छ। ग्यास आपूर्तिलाई सहज बनाउन सरकारले तत्काल वैकल्पिक व्यवस्था लागू गर्ने निर्णय गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई तत्काल ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।

मन्त्री यादवको निर्देशनअनुसार उपभोक्ताले आफूले नियमित रूपमा प्रयोग गर्दै आएको कम्पनीको ग्यास नपाएमा सोही मूल्यमा अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास लिन सक्नेछन् । बाढीका कारण उत्पन्न आपूर्ति असहजतालाई तत्काल सम्बोधन गरी उपभोक्तालाई राहत दिन यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

हाललाई यो व्यवस्था काठमाडौं उपत्यकाभित्र मात्रै लागू हुनेछ । व्यवस्था तत्काल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्री यादवले नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगलाई निर्देशन दिएकी छन् ।साथै, उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा तोकिएको व्यवस्थाविपरीत कार्य गर्ने पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बताइन् ।