२०८३ भदौ २२ , सोमवार

कृष्णभीर पहिरो : चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता

gas

सुनाखरी न्युज/ काठमाडौं ।

रसुवाको भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग ८ दिनदेखि अवरुद्ध छ। राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौं भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ । खाद्यान्नको आयातमा भएको असन्तुलनको असर तत्काल नदेखिए पनि पहिल्यैदेखि रहँदै आएको खाना पकाउने ग्यासको अभाव झनै चुलिएको छ ।

सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकातर्फ आउँदै गरेका खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका कतिपय सवारीसाधन बाटोमै रोकिएका छन् ।

ग्यासको मूल्य बढेको छ, माग पनि बढेको छ तर उपभोक्ताले बढी मूल्य तिर्न तयार हुँदासमेत सहजै ग्यास पाउने अवस्था छैन । कति उपभोक्ता मध्यरातमा लाइन लाग्न पुगेको पनि भेटिन्छ । जनजीवन असहज बनिरहँदा पनि सरकारले गम्भीर ढंगले यो समस्यालाई नलिँदा दुई महिनादेखि चोकचोकमा लामो लाइन देखिएका छन् ।