
सुनाखरी न्युज/ काठमाडौं ।
गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीप्रति खुसी व्यक्त गर्दै बाढी पीडितलाई अपमान गरी भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, बलम्बु बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै रहेका छन्।
उनलाई भदौ १० गते आएको बाढीबाट भएको जनधनको क्षतिको सम्बन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा प्रशारण गरेको आरोपमा पक्राउ गरिएको हो।
ब्यूरोका अनुसार प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट उक्त सामग्री मडैले बनाएको खुलेपछि ब्यूरोबाट खटिएको टोलीले उनलाई भदौ २० गते पक्राउ गरेको हो।
मडैविरुद्ध विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।