२०८३ भदौ १८ , बिहिवार

प्रधानमन्त्री शाह : मन भक्कानिए पनि एक आपसमा बिलौना गर्ने अवस्था छैन

Balen

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाह  ( बालेन )  ले विपद्ले मन भक्कानिए पनि सरकारलाई थकान र पीडामा अल्झिएर विश्राम गर्ने वा एकआपसमा बिलौना गर्ने समय नभएको बताएका छन्। उनले भने, ‘सोही दृढ संकल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन। हामी लडिरहेका छौँ।’

आफ्ना सपनाहरू बुनिरहेका नानीबाबु, हाँसो–खुसीका साथ बसिरहेका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षणभरमै खोसेर लगेको उनले बताए।

अकल्पनीय विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले आफ्ना आफन्त अझै फेला नपरेर बाटो हेरिरहेका नागरिकको पीडा पनि आफूले गहिरोसँग महसुस गरेको बताए।

‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’, उनले भने, ‘बाढीमा परेका नागरिकको कारुणिक चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ।’