
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बालेन शाहले जलविद्युत आयोजनाका सुरुङहरूमा पारेको असर विभिन्न अन्तर्राष्ट्रिय अनुभवको तुलनामा फरक भएकाले उद्धार गर्न कठिनाइ र ढिला भएको बताएका छन् ।
‘टनेलमा विपद् आउँदा सुरुङमा आएको पहिरो पन्छाएर प्रवेश गर्ने विशेषज्ञता विश्वभर रहेको छ । तर यो फरक घटना हो,’ प्रधानमन्त्री शाहले भने, ‘यहाँ टनेलहरू पहिरोले थुनिएको नभई बाढी र हिलो माटो भित्र परेर थुनिएका हुन् । यस्तो अवस्थाको सुरुङ खोल्ने विशेषज्ञता अरु मुलुकहरूसँग र हामीसँग पनि थिएन ।’ अरु मुलुकका सुरुङहरूमा आउने विपद् र त्यसपछिको उद्दार र रसुवाबाढीपछि जलविद्युत आयोजनाका सुरुङहरूमा मानिसहरू थुनिएको घटना फरक प्रकृतिको भएको उनको भनाई थियो ।
सुरुङ पुरिएका ठाँउहरूमा मौसमले साथ दिएमा र हिलो सुकेपछि मात्रै काम गर्न सकिने भन्दै भौगोलिक कारणले पनि कठिनाई भइरहेको उनको दाबी थियो । कतिपयले माटो पन्छाउन स्काभेटरहरूको संख्या बढाउनुपर्ने भनी दिएको सुझावबारे समेत उनले संसद्मा स्पष्टीकरण दिएका छन् । धेरै स्काभेटरहरु सुरुङ पुरिएको साइटमा लगेर मात्रै काममा प्रगति नहुने भन्दै उनले एउटा सुरुङमा एक पटकमा एउटा मात्रै एस्काभेटरले काम गर्न सकिने बताए ।