२०८३ भदौ १० , बुधवार

रसुवामा बाढी : हिमताल फुटेको हुन सक्ने मौसमविदको प्रारम्भिक अनुमान

rasuwa2

सुनाखरी न्युज/ काठमाडौं ।

रसुवाको भोटेकोशीमा आएको बाढी हिमताल विस्फोटन वा पहिरोका कारण बनेको अस्थायी बाँध फुट्दा आएको हुनसक्ने वरिष्ठ मौसमविद् उज्वल उपाध्यायले प्रारम्भिक अनुमान गरेका छन्। बुधबार बिहान करिब ९ बजेतिर आएको बाढीको कारण भने अझै खुल्न सकेको छैन ।

यो क्षेत्रका विज्ञहरूले हिमताल फुटेर, हिमपहिरो वा नदीको बाँध भत्किएर बाढी आएको हुनसक्ने अनुमान लगाएका छन् ।उपाध्यायका अनुसार विश्वव्यापी तापक्रम वृद्धि र ‘‘ एल्-निनो ’ को प्रभावका कारण हाम्रो क्षेत्रको उच्च वायुमण्डलमा तापक्रम बढ्दो छ । यसले गर्दा जमेका हिमतालका प्राकृतिक बाँधहरू कमजोर हुँदै गएका छन् ।

‘हिउँ पर्नुपर्ने ठाउँमा वर्षा हुनाले हिमतालको बाँध पग्लिएर वा फुटेर यो घटना भएको हुन सक्ने पहिलो सम्भावना देखिन्छ,’ उनले उल्लेख गरेका छन् । यी दुई सम्भावनाबाहेक तत्काल अन्य सम्भावना नदेखिएको भन्दै उपाध्यायले वास्तविक कारण थप अनुसन्धानपछि मात्र यकिन हुने बताएका छन्।

उनले अहिलेको अवस्थामा बाढीको कारणभन्दा नागरिकको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन्। रसुवादेखि नुवाकोट हुँदै धादिङको गल्छीसम्म भोटेकोशी, बेत्रावती र त्रिशूली नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।