२०८३ भदौ ९ , मंगलबार

डेढ महिनापछि खुल्यो तातोपानी नाका

Tatopani

सुनाखरी न्युज/ सिन्धुपाल्चोक ।
ठाउँ–ठाउँमा सडक भासिएर झण्डै डेढमहिनादेखि ठप्प चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने कोदारी सडक मंगलबारबाट अस्थायी ट्रयाकमार्फत संञ्चालनमा आएको छ।

अस्थायी ट्रयाक खुलेसँगै डेढ महिनादेखि कोदारी क्षेत्र र चीनतर्फ रोकिएका मालवाहक कन्टेनर धमाधम तातोपानी भन्सारतर्फ भित्रिन थालेका छन्। सडक अवरुद्ध हुँदा चीनबाट नेपालतर्फ आउने र नेपालबाट चीनतर्फ जाने मालसामानको ढुवानी प्रभावित भएको थियो।

नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यसमिति सदस्य शारदाप्रसाद पराजुलीका अनुसार दसैं नजिकिँदै गर्दा सडक अवरुद्ध भएपछि कोदारी क्षेत्रमा दर्जनौं कन्टेनर र चीनतर्फ करिब ८०–८५ कन्टेनर रोकिएका थिए। ‘दसैं नजिकिँदा सडक अवरुद्ध भएपछि दर्जनौं कन्टेनर कोदारी क्षेत्रमा र ८०–८५ वटा चीनतर्फ रोकिएका थिए,’ उनले भने, ‘अहिले ती कन्टेनर भित्रिन थालेका छन्।’

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार तीन ठूला पहिरो पन्छाएर अस्थायी ट्रयाक निर्माण गरिएपछि बाह्रबिसे–लिपिङ सडकखण्डमा मंगलबारदेखि सवारी आवागमन सम्भव भएको हो।