
सुनाखरी न्युज/काठमाडौं ।
चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना साउनमा वैदेशिक व्यापारमा उछाल देखिएको छ ।
भन्सार विभागका अनुसार २०८३ साउनमा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले वृद्धि भई २ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ बराबर पुगेको छ ।
गत आवको यसै महिनामा वैदेशिक व्यापारको आकार १ खर्ब ६६ अर्ब ९७ करोड थियो । यस वर्ष आयात र निर्यात दुवै ह्वात्तै बढेको अवस्था छ । विभागका अनुसार साउनमा वस्तु आयात १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ बराबरको भएको छ । जुन अघिल्लो आवको साउनको तुलनामा ३१।०४ प्रतिशत धेरै हो । सो वर्ष साउनमा १ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।
यस वर्ष साउनमा निर्यात ३८ अर्ब ७० करोड पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ६१।७२ प्रतिशत धेरै हो । गत साउनमा २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको थियो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा समेत उल्लेख्य बढेको छ ।