
सुनाखरी न्युज/ काठमाडौं ।
फेसबुक र इन्स्टाग्राममार्फत् बालबालिकालाई जानाजानी सामाजिक सञ्जालको लतमा मेटाले फसाएको दाबी अदालतमा गरिएको छ । सामाजिक सञ्जाल कम्पनीविरुद्ध हालसम्मकै ठूलो कानुनी चुनौतीका रूपमा हेरिएको मुद्दाको सुनुवाइ बुधबार सुरु भएको हो ।
क्यालिफोर्नियाको ओकल्यान्डस्थित अदालतमा हुने सुनुवाइमा आगामी ६ सातासम्म अमेरिकाका विभिन्न राज्यका वरिष्ठ कानुन व्यवसायी र सामाजिक सञ्जाल कम्पनी मेटाका वकिलले आ–आफ्ना दाबी र तर्क प्रस्तुत गर्नेछन् । मुद्दाको पहिलो दिन दुवै पक्षले एकअर्काका दाबी र तथ्यको खण्डन गर्दै बहस सुरु गरेका छन् ।
क्यालिफोर्नियाका तर्फबाट बहस गर्दै एक वकिलले मेटाले इन्स्टाग्राममा ११ र १२ वर्ष उमेरका ‘लाखौं’ बालबालिका रहेको थाहा पाए पनि उनीहरूलाई प्लेटफर्मबाट टाढा राख्न खासै प्रयास नगरेको दाबी गरे ।
तर मेटाका प्रतिनिधिले त्यस्ता प्रयोगकर्ता १ लाखभन्दा केही बढी मात्र भेटिएको बताए । उनले सामाजिक सञ्जालको लत भन्ने कुरा नै अस्तित्वमा नरहेको तर्कसमेत गरे ।
मेटालाई सामाजिक सञ्जालले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा असर पार्ने कुरा थाहा भएको राज्य पक्षको दाबीपछि मेटाका वकिलले सामाजिक सञ्जाल प्रयोगबाट सकारात्मक अनुभव लिने किशोरकिशोरीको संख्या पनि उत्तिकै रहेको तथ्यलाई बेवास्ता गरिएको बताए ।
यो मुद्दा सन् २०२३ मा क्यालिफोर्निया र न्युयोर्कसहित अमेरिकाका २९ राज्यले दायर गरेको मुद्दाबाट अघि बढेको हो । ती राज्यले बालबालिकासम्बन्धी संघीय तथा राज्यस्तरीय गोपनीयता कानुनको मेटाले पटक–पटक उल्लंघन गरेको आरोप लगाएका छन् ।
स्मिटले १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई आफ्ना प्लेटफर्म प्रयोग गर्नबाट रोक्न मेटा असफल भएको र फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्न किशोर तथा बालबालिकालाई जानाजानी ‘लतमा फसाएको’ भन्ने राज्यहरूको दाबीमा समेत प्रश्न उठाए । उनका अनुसार यी प्लेटफर्म नै लत लाग्ने गरी डिजाइन गरिएको भन्ने दाबी पनि सही होइन ।