
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि देशभरिका म्यानपावरहरू बन्द गर्ने भएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क परिमार्जन लगायत १५ बुँदे माग अघि सारेको छ । ती माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले देशभरिका म्यानपावर कार्यालय बन्द गर्ने भएका हुन् ।
सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यानपावर व्यवसायीहरूले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका हुन् ।
संघका अध्यक्ष डिकबहादुर खत्रीले वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अगाडि बढाएको बताउँछन् ।
अध्यक्ष खत्रीले भने, ‘युवा, श्रम तथा रोजगार मन्त्रालयमा छलफलका लागि अहिले हामी जाँदैछौं ।’
मन्त्रालयसँग शुक्रबार पनि प्रारम्भिक चरणको छलफल भएको थियो ।
संघले ७ साउनमा व्यवसायीहरूको विशेष भेला आयोजना गरेर सरकारलाई १५ बुँदे माग अघि सारेको थियो । जसमा वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यानपावर व्यवसायीलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गरिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिनुपर्ने लगायत माग छन् ।