२०८३ श्रावण ३१ , आइतवार

रवि–बालेनः सरकारको विरोध गरेर सत्तामा पुगे, अहिले विरोधीहरुलाई जेल कोच्दै !

balen-and-rabi

 

सुनाखरी न्युज/ काठमाडौं । 

भनिन्छ, मानिसलाई सबैभन्दा बढी माया जन्म दिने आमाबुवा र मातृभूमिको हुन्छ । तर, वैदेशिक रोजगारी वा शिक्षाका निम्ति विदेशिने र उतैको पीआर, ग्रिन कार्ड लिने नेपाली बढ्दो छन् । आफ्ना आमाबुबा, मातृभूमि, गाउँघर, साथीभाई सबैलाई बिर्सेर उनीहरुले नेपाली नागरिकता त्याग्छन् । र, पीआर, ग्रिन कार्ड लिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि मातृभूमि र नागरिकता परित्याग गरिसकेका व्यक्ति हुन् । कमाउन भन्दै ०५६ सालमा उनी अमेरिका गए । ०६६ सालमा नेपाली नागरिकता र राहदानी त्यागेर उनले अमेरिकी पीआर लिए । अमेरिकामा घरायसी समस्या र मुद्दा मामिलाका कारण ०७१ जेठमा उनी भिजिट भिसामा नेपाल आए ।

त्यसपछि न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रम चलाए । नेपाल फर्किएको लामो समयसम्म उनले नेपाली नागरिकता पुनः प्राप्तिका निम्ति प्रक्रिया अघि बढाएनन् भने प्रेस कार्डबिनै पत्रकारितामा लागे । उक्त कार्यक्रममार्फत उनी निकै चर्चामा आए । कारण थियो–राजनीतिक दलका नेताहरुको विरोध गर्नु । नेताहरुको हिलो छाप्ने काम उनले गर्थे ।त्यसैबीच उनका सहकर्मी पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरे । काठमाडौंमा डेरा लिई बस्ने नुवाकोटका उनले चितवनमा पुगेर आत्महत्या गरेका थिए ।

मर्नुअघि पुडासैनीले एउटा भिडियो रेकर्ड गरेका थिए, जसमा आफूलाई यो कदम चाल्न रवि लामिछानेले बाध्य बनाएको बताएका छन् । पुडासैनीको आत्महत्या प्रकरणमा रवि न्यूज रुमबाटै पक्राउ परे । अनि उनी कार्यरत टेलिभिजनले अनुसन्धानरत विषयमा न्यायाधीशझैं रवि निर्दोष छन् भन्दै समाचार सम्प्रेषण गर्यो । सर्वसाधारणलाई उकास्यो । रवि पत्नी निकिता त्यतिबेला राजावादी थिइन् । चलचित्र बोर्डको अध्यक्ष र राजावादी भएपछि उनको समर्थनमा कलाकारसँगै राजावादीहरु पनि सडकमा ओर्लिए । चितवनमा भीड थेगिनसक्नु भएपछि प्रहरीले दबाबमा कमजोर मिसिल बनायो । र, न्यायाधीशले रविलाई तारिखमा छोडिदिए ।

प्रहरी हिरासतमा रहँदा आफ्नो समर्थनका सडकमा ओर्लिएको जनसागर देखेपछि रविको मनोबल झनै बढ्यो । आफूले जत्रो ठूलो गल्ती गरेपनि केही हुँदैन भन्ने भ्रम उनमा उत्पन्न भयो । यसपछि ०७९ वैशाखमा स्थानीय तह चुनाव भयो । काठमाडौं महानगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले जिते । त्यो देखेपछि रवि पनि राजनीतिमा लागे । ०७९ असार ७ गते रास्वपा दर्ता गराए ।
पार्टी दर्ता गराउँदा उनले त्यागिसकेको नागरिकताको दुरुपयोग गरे । कानूनमा स्पष्ट भनिएको छ–खारेज भएको नेपाली नागरिकता सम्बन्धित मुलुकमा बुझाउनुपर्छ । तर, रविले बुझाएनन् । आफैंसँग राखे । र, सोही नागरिकताको आडमा पार्टी दर्ता गरे । ०७९ मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयो । चितवन क्षेत्र नम्बर २ बाट लडेका रवि विजयी भए ।

रास्वपाले चुनावमा २१ सिट जित्यो । कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२, राप्रपाले १४ सिट जितेको थियो । पुस ११ गते तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भयो । चुनावअघि सरकारमा नजाने वाचा गरेका रवि प्रचण्ड सरकारमा गृहमन्त्री बने । त्यसपछि उनी नेपाली नागरिक नै नभएको ठहरियो । सर्वोच्चको फैसलाका कारण ३२ दिनमै उनले गृहमन्त्रीसहित सांसद, पार्टी सभापतिलगायत पद गुमाए । अनि बल्ल उनले नागरिकता पुनः प्राप्तिका निम्ति जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिए र नागरिकता लिए । रविकै कारण चितवनमा उपचुनाव गराउनुपर्यो । ०८० वैशाख १० गते भएको उपचुनावबाट पनि उनी नै चुनिए ।

चुनाव प्रचारप्रसारका निक्ति चितवनमा रहँदा रविका ड्राइभरको मृत्यु भयो, त्यो पनि होटलको छतबाट खसेर । उक्त घटनालाई सामसुम पारियो । ती ड्राइभरको हत्या भएको र त्यसमा रविसहितको संलग्नता रहेको आरोप पनि लाग्दै आएको छ । उपचुनावबाट सांसद चुनिएर दोस्रो पटक गृहमन्त्री बनेका रवि सहकारी ठगीमा मुछिए । जिबी राईसँग मिलेर सहकारीको अर्बौ रकम हिनामिना गरेको आरोप लाग्यो । त्यसपछि उनको गृहमन्त्री पद गुम्यो । सांसदबाट निलम्बित भए । तर, उनले यसलाई राजनीतिक प्रतिशोध भन्दै अफवाह फैलाएँ । आफूले भ्रष्टाचारका ठूला फाइल खोल्न लागेकोले फसाइएको उनी दाबी गर्थे । कालिकोटमा रास्कोट अस्पताल निर्माणका नाममा करोडौं रकम हिनामिना गरेको आरोप पनि रविमाथि छ ।

यता, पाँच वटा सहकारीमा सर्वसाधारणले राखेको पैसा जिबी र रविले ग्यालेक्सी टिभीमा लगानी गरेका थिए । रवि राजनीतिमा लागेपछि ग्यालेक्सी टेलिभिजन डुब्यो । सँगै सहकारीको पैसा पनि डुब्यो । त्यसलगत्तै जिबी राई फरार भए । रवि प्रहरी हिरासतमा पुगे । सहकारी ठगीमा उनीमाथि पाँच अदालतमा अहिले पनि मुद्दा विचाराधीन नै छ । दश करोड बढी धरौटी तिरेर रवि जेलबाट बाहिर निस्किएका हुन् । उनीमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा भने फिर्ता लिइएको छ । ०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो । उक्त आन्दोलनमा बालेन र रवि दुवैको समर्थन थियो । नख्खु जेलमा रहेका रविले विज्ञप्ति नै निकालेर जेनजी आन्दोलनप्रति समर्थन जनाएका थिए भने बालेनले फेसबुकमा स्टाटस लेखेका थिए ।

२३ गतेको आन्दोलनमा १९ जनाले ज्यान गुमाए । रविले आफ्ना सांसदहरुलाई तुरुन्त राजीनामा दिन निर्देशन दिए । भोलिपल्ट रास्वपा कार्यकर्ताहरुले रविलाई जेलबाट बाहिर निकाले । उनी निस्किएपछि सिंहदबारसहित अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत जलाइयो । जेनजी आन्दोलनमा ७७ जनाले ज्यान गुमाए । हजारौं घाइते र अंगभंग भए । सरकारी संरचनामा ८४ अर्ब ७७ करोड ४५ लाख बराबरको क्षति पुग्यो । निजीतर्फ २७ खर्बको क्षति भयो । घाइतेहरुको उपचारमा राज्यको अर्बौ रकम सकियो । मृतकमध्ये ४५ जनालाई मात्र शहिद घोषणा गरियो । तिनका परिवारलाई १५ लाख क्षतिपूर्ति दिइयो । मासिक पेन्सन पनि दिइँदै आएको छ । शहिद घोषणा नभएकाको परिवारले क्षतिपूर्ति पाए न पेन्सन ।

जेनजी आन्दोलनपछि भदौ २७ गते सुशीला कार्की प्रधानमन्त्री बनिन् । प्रधानमन्त्री बनेकै दिन उनले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिन् । कार्की सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले रविको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिइन् । चुनावमा रवि र बालेन सँगै होमिए । काठमाडौंको मेयरबाट राजीनामा दिएर बालेन रास्वपाको वरिष्ठ नेता बने । झापाबाट लडे र जिते । आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिकले रोक्दा सिंहदरबार जलाइदिन्छु, नेताहरुलाई टुकुचामा गाड्दिन्छुजस्ता भड्किलो र अराजक अभिव्यक्ति दिएर चर्चामा आएका बालेन अहिले प्रधानमन्त्री छन् । तर, बालेन सरकार गठनको पाँच महिनामै जनतामा व्यापक आक्रोश र निराशा देखिइसक्यो । एकल सरकार हुँदासमेत सिन्को नभाँचेको भन्दै आलोचना भइरहेको छ । यसले बालेन र रवि पनि ढिलोचाँडो भदौ २४ गते कांग्रेस, एमाले, माओवादीको भएकै हविगतमा पुग्ने देखिँदैछ ।
रुषा थापा
भक्तपुर