
सुनाखरी न्युज/ काठमाडौं ।
गैरआवासीय नेपाली संघ (NRNA) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ (“Aarohan 2026 – Rising Together, Leading Forward”) आगामी १५–१७ अगस्ट २०२६ चीनको ग्वांगजौ स्थित क्राउन प्लाजा ग्वाझाओ सिटी सेन्टर (Crowne Plaza Guangzhou City Centre) होटलमा भव्यताका साथ आयोजना हुँदैछ । “हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ” भन्ने मुख्य ध्येयका साथ आयोजित यस सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौँ ।
गैरआवासीय नेपाली संघ (NRNA) , ११औँ NRNA एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजक समिति, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनको मुख्य आयोजनामा हुने सम्मेलनका मुख्य आकर्षण तथा सत्रहरूस् उद्घाटन समारोह ( १५ अगस्ट २०२६) : यस सम्मेलनको उद्घाटन समारोहको अध्यक्षता एसिया प्यासिफिक क्षेत्रका क्षेत्रीय संयोजक दीपक कंडेलज्यूले गर्नुहुनेछ भने, प्रतिनिधिसभाका माननीय विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका संसदीय दलका नेता श्री भीष्मराज आङ्देम्बेज्यूको प्रमुख आतिथ्यता रहनेछ ।
साथै, विभिन्न राजनीतिक दलका माननीय सचेतकहरू, माननीय सांसदहरू, परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू, चीनस्थित नेपाली कूटनीतिक नियोगहरुका प्रमुखहरू तथा गैर आवासीय नेपाली संघका संस्थापक एवं अग्रज नेतृत्वहरूको विशेष उपस्थिति रहनेछ ।
सम्मेलनमा व्यापार र लगानीका नीतिगत छलफल ( सत्र १ ) : गैरआवासीय नेपालीहरू र नेपालको व्यापार तथा लजिस्टिक क्षेत्रबीच लगानीका अवसरहरू प्रवद्र्धन गर्ने विषयमा गहिरो नीतिगत संवाद हुनेछ । एसिया प्यासिफिक क्षेत्रका एनसीसीहरूको सुदृढीकरण (सत्र २) : यस क्षेत्रका राष्ट्रिय समन्वय परिषद् (NCC) हरूको गतिशीलता बढाउने र अनुभव आदानप्रदान गर्ने विषयमा केन्द्रित रहनेछ। सुरक्षित वैदेशिक रोजगार र पुनःएकीकरण (सत्र ३) : वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका चुनौती, अवसर, सीमापार मानव बेचबिखन तथा आप्रवासी कामदारहरूको अधिकार सुरक्षाका विषयमा विस्तृत बहस हुनेछ ।
नेपाली नागरिकताको निरन्तरता र अधिकार ( सत्र ४ ) : गैरआवासीय नेपाली नागरिकता निरन्तरता (CNC) र PNO अधिकारहरूको संस्थागत कार्यान्वयनबारे मुख्य सत्र सञ्चालन हुनेछ । पर्यटन प्रवर्द्धन र जरोसँगको पुनर्मिलन ( सत्र ५ ) : विशेष गरी पर्वतीय पर्यटन र स्वास्थ्य ( वेलनेस ) पर्यटनमार्फत डायस्पोराको शक्तिलाई नेपालको पर्यटन प्रवर्द्धनमा उपयोग गर्ने विषयमा छलफल हुनेछ। महिला तथा युवा सत्र ( सत्र ६ र ७ ) :
“व्यवसाय निर्माण, रूपान्तरण नेपाल” भन्ने उद्देश्यका साथ महिला सशक्तीकरण र दोस्रो पुस्ताका नेपालीहरूको पहिचान, नेतृत्व विकास तथा विश्वव्यापी सञ्जाल विस्तारमा विशेष सत्रहरू तय गरिएका छन् । NRNA को रि- ब्रान्डिङ ( सत्र ८ ) : संघको साङ्गठनिक पहिचानलाई थप सबल बनाउँदै समृद्ध भविष्यतर्फ डोर्याउने विषयमा विचारविमर्श हुनेछ ।
समापन तथा घोषणापत्र : १६ अगस्ट २०२६ का दिन विभिन्न प्लेनरी सत्रहरू सम्पन्न भएपश्चात ‘ग्वाझाओ घोषणापत्र २०२६’ जारी गर्दै सम्मेलनको औपचारिक समापन गरिनेछ । यसैगरी, सम्मेलनको अन्तिम दिन १७ अगस्ट २०२६ का दिन सहभागी प्रतिनिधिहरूका लागि ग्वाझाओबाट उत्तरतर्फ करिब ७० देखि ८० किलोमिटर ( डेढ देखि दुई घण्टाको ड्राइभ ) दूरीमा रहेको छिमेकी छिंगयुआन सहरस्थित प्रख्यात Gulong Gorge Glass Bridge (Gulongxia) मा आधिकारिक अवलोकन भ्रमण (Excursion) को कार्यक्रम तय गरिएको छ। यस ऐतिहासिक क्षेत्रीय सम्मेलनले नेपाल र एसिया प्यासिफिक क्षेत्रका गैरआवासीय नेपालीहरूबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँदै नेपालको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने हामीले विश्वास लिएका छौँ । उक्त सम्मेलनमा उपस्थित भई समाचार सम्प्रेषण गरिदिनुहुन सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चार माध्यमहरूलाई हार्दिक आमन्त्रण एवं अनुरोध गर्दछौँ ।