
सुनाखरी न्युज / काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या ५७ हजार ८९७ रहेको छ । यो ८१ . १९ प्रतिशत बराबर हो।
यस्तै, तीन परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ।प्राप्त नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीले साउन २४ गते बिहान ९ बजेदेखि साउन ३० गते साँझ ५ बजेसम्म प्रतिविषय एक हजार रुपैयाँ दस्तुर बुझाएर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
त्यस्तै, परीक्षामा सहभागी भई प्रत्येक विषयमा कम्तीमा ‘डी’ ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको १० दिनपश्चात् तोकिएको दस्तुर बुझाई ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल प्रमाणपत्रका लागि आवेदन दिन सक्ने बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।