
सुनाखरी न्युज / काठमाडौं ।
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म प्राप्त विवरणअनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना नभएसम्म उक्त सडकमा राति आवागमन बन्द रहने र बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने सवारी सञ्चालन हुने जनाइएको छ । मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाको जोखिमलाई ध्यानमा राख्दै बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । पहिरोका कारण इलाम नगरपालिका–९ राजदुवालीमा मेची राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा सडक भासिँदा अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन् । दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड सामाकोशी खोलाको कटानका कारण अवरुद्ध भएको छ । यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूलीले सडक कटान गरेपछि पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ ताल्चा क्षेत्रमा नाग्म–गमगढी सडकखण्ड अवरुद्ध भएको छ भने बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालिगण्डकी करिडोर पनि पहिरोले बन्द भएको छ ।
पाल्पाको निस्दी गाउँपालिका–१ लितिपिरिङ क्षेत्रमा पनि पहिरोले कालिगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । यसैगरी, ललितपुरको बाग्मती गाउँपालिका–३ पाङदुरस्थित कान्तिलोकपथ, रुकुमपूर्वको भूमे गाउँपालिका–३ काँडाबजारस्थित मध्यपहाडी लोकमार्ग, म्याग्दीका रघुगङ्गा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–७ भिरकाटेमा पहिरो खसेकाले बेनी–जोमसोम सडक तथा पर्वतको जलजला गाउँपालिका–७ केराबारीस्थित मालढुङ्गा–बेनी सडक पनि पूर्ण रूपमा अवरुद्ध भएका छन्।