२०८३ श्रावण १७ , आइतवार

निर्मल पुर्जा ‘निम्स दाइ’को जन्मथलो अन्नपूर्णमा शोक बिदा

nirmal

सुनाखरी न्युज  / काठमाडौं ।

पाकिस्तानस्थित ब्रड पिक  ( ८,०४७ मिटर )  हिमालमा गएको भीषण हिमपहिरोमा निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित आरोहण टोलीका सदस्यहरूको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बिदा घोषणा गरेको छ ।

अन्नपूर्ण गाउँपालिका पुर्जाको जन्मथलो हो । उनी अन्नपूर्ण गाउँपालिका- २ दाना निवासी हुन् । दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मानस्वरूप सोमबार गाउँपालिकाअन्तर्गत अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले सम्पूर्ण नागरिकलाई दिवंगत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकको यस घडीमा एकताबद्ध हुन आग्रह गरेको छ । उनको असामयिक निधनले नेपाल मात्र होइन, विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।