
सुनाखरी न्युज/ काठमाडौँ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा उत्रिएको समूहले मंगलबार पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छ । बजार क्षेत्रमा भेला भएका युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरिरहेकाछन् । राजमार्गको पकलीदेखि कोशी ब्यारेज क्षेत्रको ठाउँठाउँमा अवरोध छ ।
प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिम जाने सवारी साधनहरूलाई रोकेको छ । गएको आइतबार कप्तानगञ्जमा दुई समूहको झडप नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए ।प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिम जाने सवारी साधनहरूलाई रोकेको छ । घटनापछि स्थीति नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिण क्षेत्रका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु उल्लङ्घन गर्दै सोमबार दिनभर प्रदर्शन भयो ।
स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु मंगलबार पनि यथावत् छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ ।हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु जारी छ । हरिनगरा बजार क्षेत्रमा पूर्वमा नुनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्म कर्फ्यु छ । भुटाहा बजार क्षेत्रमा पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्म कर्फ्यु कायम छ ।