
सुनाखरी न्युज/ काठमाडौँ ।
नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आज ( मंगलबार ) देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो ।
संघका अनुसार गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो ।सोही घटनाका दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेको बेला प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी प्रमुखले बल प्रयोग गरी संघका केन्द्रीय सदस्य तथा नारायणी शाखाका अध्यक्ष लगायतका चिकित्सकहरूमाथि दुर्व्यवहार र गालीगलौज गरेको भन्दै संघले घोर भर्त्सना गरेको छ।