
सुनाखरी न्युज/ वासिङ्टन डीसी ।
अमेरिका र इरानबिचको लडाइँ अस्थायी रूपमा रोकिएपछि सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। यो गिरावट अप्रिल ८ यताकै सबैभन्दा ठुलो मानिएको छ।
विश्व बजारको प्रमुख मापदण्ड मानिने ब्रेन्ट क्रुडको वायदा मूल्य ११.३ प्रतिशतले घटेर प्रतिव्यारेल ८५.८७ अमेरिकी डलरमा बन्द भयो। त्यसैगरी अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटिआई) कच्चा तेलको मूल्य करिब ७ प्रतिशतले घटेर प्रतिव्यारेल ८२.६१ अमेरिकी डलरमा झरेको छ।
इरानी सरकारको आग्रहमा अमेरिकाले इरानमाथिको सैन्य आक्रमण रोकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। उनले नयाँ युद्धविराम सम्झौता हुन नसके अमेरिका पुनः आक्रमणमा उत्रिने चेतावनी पनि दिएका छन्।
युद्धविराम भए पनि विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग होर्मुज जलडमरूमध्यबाट हुने जहाज आवतजावत अझै युद्धअघिको स्तरमा फर्किएको छैन। सीएनएनले ट्र्याक गरेको ढुवानी तथ्यांकअनुसार सोमबार बिहानसम्म उक्त जलमार्गबाट १० भन्दा कम वस्तुवाहक जहाज मात्र आवतजावत गरेका थिए। युद्धअघि भने दैनिक करिब १०० व्यावसायिक जहाज यही मार्गबाट गुड्ने गरेका थिए।
तेल व्यापारीहरू अर्को जोखिमप्रति पनि सतर्क छन्। इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरको प्रवेशद्वार बाब अल–मन्देब जलडमरूमध्यमा साउदी अरबका तेल ट्यांकरमाथि आक्रमण गर्न सक्ने आशंकाले बजारमा अनिश्चितता कायम छ।