२०८३ असार ३० , मंगलबार

डोको बोकेर सडक-सडक डुल्दै ‘गौँथली’

gauthali-simran_FtH5ihSLRa

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको व्यस्त सडक, हजारौँको भीड । त्यही भीडको माझमा एक सुन्दरी युवती डोकोमा घाँस बोकेर हिँडिरहेकी थिइन् । तर, अचम्मको कुरा चाहिँ डोको बोकेर हिँडिरहेकी युवतीसँग सेल्फी खिच्नेको भीड लागिरहेको थियो । चलचित्र ‘गौँथली’को शीर्ष भूमिकामा रहेकी सिम्रन आफ्नो चलचित्रको प्रचारका लागि शनिबार डोकोमा घाँस बोकेर काठमाडौं र ललितपुरका सडक–सडक पुगिन् । काठमाडौँको वसन्तपुर र ललितपुरको पाटन क्षेत्रमा डोको बोकेर पुगेकी सिम्रनले दुई हजारभन्दा धेरै दर्शकलाई भेटेर ‘गौँथली’ हेर्न आग्रह गरिन्।

सिनेमाको सारांश र डिटेल समेटिएको ब्रोसर दिँदै सिनेमा हेर्न निम्तो दिइन्। ‘हामीले नयाँ तरिकाबाट दर्शकमाझ पुगेर सिनेमा हेर्न आग्रह गर्‍यौँ। धेरैले हाम्रा अन्तर्वार्ता र ट्रेलर हेरेर सिनेमा हेर्ने निर्णय गरिसकेको बताउनु भयो। केहीले त हामी यो सिनेमा हेर्न हलमा गएका थियौँ, तर लागेकै रहेनछ भन्नुभयो,’ सिम्रनले भनिन्। प्रत्यक्ष भेटेर दर्शकलाई सिनेमा हेर्न निम्तो दिँदा रमाइलो अनुभव गरेको र दर्शकले ‘हामी सिनेमा हेर्न जान्छौँ’ भन्दा आत्मविश्वास बढेको उनले बताइन्।

कपिल रिजालले निर्देशन गरेको चलचित्रले यतिबेला राम्रो चर्चा बटुलिरहेको छ। साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो फिल्मको ट्रेलर युट्युबको ट्रेन्डिङ १ मा छ। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।  डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।